पूर्णकुमारले गाउँमै व्यावसायिक कृषि र पशुपालनबाट लाखौँ आम्दानी गरिरहेका छन् । व्यवासाय सुरु गरेपछि उनलाई घरखर्च टार्न कुनै समस्य छैन । ‘अहिले घरखर्च टार्न कसैलाई माग्नु परेको छैन । यही व्यवसायबाट सहजरुपमा जीविकोपार्जन भइरहेको छ’, उनले भने, ‘युवा जनशक्ति विदेश पलायनसँगै गाउँघर रित्तिदैँ गएका बेला म चाँही स्वेदशमै पसिना बगाउने सङ्कल्पका साथ यही व्यवसायमा लागिरहेको छु ।’
राईले वैदेशिक रोजगारीबाट सिकेको सीप गाउँघरमै प्रयोग गरिरहेको बताए । फुङ्ग धुलो उड्ने सुख्खा डाँडो अहिले हरियाली भएको छ । बाख्रापालनबाट सङ्कलन भएको मलबाट डाँडामा फलफूल, तरकारी खेती र अलैँचीका बोटले हराभरा भएका छन् । उनको मेहनतबाट स्थानीय किसानसमेत उत्साहित भएका छन् ।
पूर्णकुमारले आफ्नो ५६ रोपनी जग्गा नपुगेर घाँस र चरन क्षेत्रका लागि सात सय रोपनी जग्गा भाडामा लिएको जानकारी दिए । रोजगारीका लागि विदेश जानु भन्दा गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उनको भनाइ थियो ।
उनको फार्मले प्रोत्साहनस्वरुप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमुना बाख्रा फार्म कार्यक्रमअन्तर्गत रु १० लाख अनुदानसमेत पाएको छ । सो अनुदानबाट आधुनिक बाख्रोको खोर निर्माण गरेको राईले बताए । उनका अनुसार बोका, माउ बाख्रा, खसी एवम् पाठापाठीका राख्ने खोर अलगअलग बनेका छन् ।
पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बाख्रापान सुरु गरेको राईको भनाइ थियो । ‘बेरोजगार युवा विदेशिने क्रम रोक्न तथा गाउँघरमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ’, उनले भने, ‘बैंकको कर्जा विस्तारै तिरिसक्न लागेँ । कर्जा चुक्ता गरेपछि अझ बाख्रा थप्ने योजनामा छु ।’ रासस