ट्राउट एण्ड अग्र्यानिक होममा उत्पादित रेन्वो ट्राउट माछा प्रतिकिलो रु एक हजार सात सयमा बिक्री हुने गरेको उनको भनाइ छ । “अग्र्यानिक होममा नै पकाएर खाने पर्यटक तथा पाहुनाले ट्राउट माछा प्रतिकिलो रु दुई हजार तिनुपर्छ, घर लैजानेले प्रतिकिलो रु एक हजार सात सयमा पाउँछन्”, उनले भने ।
आजभोलि मनास्लु पदयात्रामा जाने आउने पर्यटकसमेत ट्राउट एण्ड अग्र्यानिक होममा बसेर ट्राउट माछाको स्वाद चाखेर मात्र फर्कने गरेको उनले बताए । ‘दैनिक करिब छ–सात किलो माछा बिक्री हुन्छ, माघमा तातोपानी मेलाको समयमा त दैनिक दुई–तीन क्विन्टलसम्म पनि बिक्री हुँदै आएको छ’, उनले भने ।
फार्मको उत्पादनले स्थानीय बजारमा नपुग्नेसमेत गुरुङले बताए । ट्राउट माछा पाल्नका लागि १४ देखि १८ डिग्री उपयुक्त तापक्रम हो । अहिले ट्राउट एण्ड अग्र्यानिक होमबाट वार्षिक २० देखि २५ क्विन्टल उत्पादन हुन्छ । यसबाट राम्रो आम्दानी हुँदै आएको छ, उत्पादित माछा अधिकांश स्थानीय बजारमा खपत हुने गरेको भए पनि केही भने आरुघाट बजार बिक्री हुने गरेको उनले जानकारी दिए ।
रेन्वो ट्राउट माछा दुई वर्षमा तीन सय ग्रामसम्मको हुने र अन्य माछाको तुलनामा अन्यन्तै स्वादिष्ट हुने भएकाले पनि ग्राहकको रोजाइ पर्ने गरेको अध्यक्ष गुरुङले बताए । उनले अग्र्यानिक फार्ममा माछापालनबाहेक माछाको भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालन गरिएको छ भने एरोविक कफीखेती र लोकल कुखुरापालन गर्दै आएका छन्। धार्चेमा चिसो पानी भएकाले ट्राउट माछापालनको प्रशस्त सम्भावना रहेको उनले जानकारी दिए । धार्चेका किसानलाई हौसला प्रदान गर्नका फार्ममै भुरा उत्पादनका लागि ह्याचरीसमेत सञ्चालन गरिएको छ । फार्म सञ्चालनका लागि करिब रु तीन करोड लगानी भएको उनले जानकारी दिए ।
ट्राउट एण्ड अग्र्यानिक होममा माछाका लागि दाना उत्पादन गर्नका लागि एक तालिम प्राप्त व्यक्तिलाई सेयर सदस्यका रूपमा राखिएको उनले बताए । सामूहिकरूपमा कमाउने र रोजगारी प्रदान गर्ने उद्देश्य छ । बाहिरबाट आउने पर्यटकले बोकेर ल्याएर फोहर फाल्ने ठाउँ धार्चेलाई बनाउनु हुँदैन, धार्चेको उत्पादनले बजारलाई आत्मानिर्भर बनाउनुपर्छ गुरुङले भने ।
अहिले सञ्चालन गरिएको ट्राउट एण्ड अग्र्यानिक होम बाह्यभन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको उनको भनाइ छ । ग्रामीण परिवेश भएकाले धार्चेमा सानो लगानीमा तर सफा र स्वच्छ संरचना निर्माण गरेर पर्यटकलाई आर्कषित गर्नुपर्ने उनले बताए । धार्चे आउने पर्यटकलाई यहीँको उत्पादनको स्वाद चखाउन सके स्थानीय किसानले उत्पादन गरेको बस्तु बिक्री पनि हुने र किसानले पैसा पाउने अवस्था सिर्जना हुन्छ, त्यसो गर्दा स्थानीय किसानको आयआर्जन वृद्धि गर्न मद्दत पुग्छ भन्ने विश्वास अध्यक्ष गुरुङको छ ।
फार्मबाट अहिले वार्षिक एक लाख ट्राउट माछाको भुरा उत्पादन गर्न सकिने अध्यक्ष गुरुङले बताए । ‘फार्मका लागि आवश्यक पर्ने ३० हजारदेखि ३५ हजारसम्म मात्र माछाको भुरा उत्पादन गर्ने गरिएको छ’, उनले भने, ‘भुराको माग भए त एक लाखसम्म पनि उत्पादन गर्न सकिन्छ ।’
एउटा उमेर पुगेका माछाबाट एक सय ५० ग्राम अण्डा उत्पादन हुन्छ भने एक ग्राम अण्डाबाट १६ वटा भुरा उत्पादन हुने गुरुङको भनाइ छ । फार्ममा अहिले भुरा उत्पादनका लागि छ सयवटा पोथी माछा रहेको छ । फार्ममार्फत धार्चेका किसानलाई माछापालनमा प्रोत्साहनका लागि तालिम सञ्चालन गर्ने तयारी गरिएको छ । रासस