काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले साधारणसभाबाट विधान संसोधन गरेपछि हाल सञ्चालक समितिमा रहेका पदाधिकारी तथा सदस्यहरूले धमाधम राजीनामा दिएका छन् । सिबिफिनको साधारणसभाले बैंक तथा वित्तीय संस्थाको बहालवाला सञ्चालक मात्रै सिबिफिनकाे बाेर्डमा बस्न पाउने व्यवस्था गरेपछि हाल सिबिफिनको बोर्डमा रहेका अधिकांश सञ्चालकले राजीनामा दिएका हुन् ।
सिबिफिनका अध्यक्ष पवन गोल्यानले पनि पदबाट राजीनामा दिएका छन् । उनले बुधबार मात्रै पदबाट राजीनामा दिएका हुन् । उनी हाल एनएमबि बैंकको अध्यक्ष भए पनि अब आउने एनएमबी बैंकको साधारणसभाबाट अध्यक्षबाट हट्ने भएकोले उनले सिबिफिनबाट पनि राजीनामा दिएका हुन् ।
उनीसँगै हालका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, महासचिव राजनसिंह भण्डारी र मोतिलाल दुगडले राजीनामा दिएका छन् । यी चारै जना हाइप्रोफाइल व्यवसायीका रूपमा चिनिन्छन् ।
गोल्यानले गोल्यान ग्रुपको अध्यक्ष हुन् । यस्तै, दुगड पनि पनि तत्कालीन सनराइज बैंकका अध्यक्ष थिए । सनराइज बैंक लक्ष्मीसँग मर्ज भएपछि उनी सञ्चालकबाट हटेका हुन् । यस्तै, शाह पनि तत्कालीन मेगा बैंकका अध्यक्ष थिए । तर, मेगा बैंक पनि नेपाल इन्भेष्टमेन्टसँग मर्जर भएपछि उनी सञ्चालक बन्न पाएनन् । भण्डारी पनि यसअघि सिटिजन्स बैंकका अध्यक्ष थिए । हाल उनी सामाजिक सुरक्षा कोषका सञ्चालककारूपमा काम गरिरहेका छन् ।
अध्यक्ष गोल्यानको राजीनामा सँगै सिविफिनको अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल नियुक्त भएका छन् । गोल्यानले बुधबार पौडेललाई अध्यक्ष पद हस्तान्तरण गरेका हुन् ।
अहिले पौडेलले नेपाल व्यवस्थापक संघ (म्यान)को अध्यक्षको जिम्मेवारी पनि समालिरहेका छन् । १७ वर्ष एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका पौडेलसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक, सोल्टी होटल लगायत संस्थामा काम गरेको अनुभव छ ।
नेपाली बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो समय एक अब्बल व्यवस्थापक भएर काम गरेका पौडेल अहिले नबिल बैंकको अध्यक्षकारूपमा नेतृत्व गरिरहेका छन् । उनले वाणिज्य बैंकका सीईओहरूको छाता संस्था नेपाल बैंकर्स संघको पनि नेतृत्व गरिसकेका छन् ।