जनकपुरधाम ३, माघ । जनकपुर उपमहानगरपालिका १ को ऐलानी जग्गामा रहेको झोपडीमा बस्ने अनिता मल्लिक डोमले आफ्ना चार छोराछोरीलाई पढाउन सक्दो प्रयत्न गरिन्। सामान्य लेखपढ गर्न आउने दुई छोरी र दुई छोरालाई अनिताले जनकपुरकै सरस्वती उच्च माध्यमिक विद्यालय तथा अन्य सरकारी विद्यालयमा पढ्न पठाइन्। तर छोराछोरीलाई कहिले शिक्षक त कहिले विद्यार्थीका अभिभावकले विद्यालयबाट घर पठाइदिएपछि वाक्कदिक्क भएर छोराछोरी पढाई ठूलो मान्छे बनाउने सपना उनले त्यागेकी छन्।
ुमजदुरी गरेरै भए पनि बच्चालाई पढाउँछु भन्ने सोचेकी थिएँ। विद्यालय पठाउन कपीकलम पनि किनिदिएँ, अनिताले भनिन्, ुतर विद्यालयमा डोमका बच्चालाई अछूत भनेर हेला गरिने तथा पढ्नै नदिने वातावरण भएपछि छोराछोरी अहिले कबाड बेच्ने र फोहोर सफा गर्ने काममा लागेका छन्। उनी बस्ने मिल्स एरियाको डोम बस्तीमा कोही पनि बालबालिका विद्यालय जाँदैनन्। उनीहरू घरको काम गर्ने वा फोहोरबाट कबाड छानेर बेच्ने गर्छन्।

फाइल तस्विर
संविधानले कुनै व्यक्ति वा समुदायमाथि छुवाछूत गर्नुलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरे पनि तराईका डोम समुदायले छुवाछूतकै विभेदका कारण शिक्षाबाट वञ्चित हुनुपरेको छ।
विद्यालयमा डोम बालबालिकालाई सँगै बस्न नदिने, केही सोध्दा पनि शिक्षकले नबताउने र अन्य बालबालिकाका अभिभावकले डोम समुदायका बालबालिका पढाए आफ्ना छोराछोरी विद्यालयबाट छुटाउनेसम्मको चेतावनी दिने गरेकाले आफ्ना बालबालिकालाई चाहेर पनि विद्यालय पठाउन गाह्रो भएको रामअधीन सदा डोम बताउँछन्।
छुवाछूतकै कारण डोम, हल्खोर, मेस्तर, चमार र दुसाध जातिका बालबालिकालाई विद्यालयमा पढ्न गाह्रो हुने गरेको विनोद मेस्तरले सुनाए। नपढेकै कारण हामीले पशुकै जीवन बिताउनुपर्योु, विनोदले भने, समाजले सधैं हेला गर्यो। शौचालय सफा गर्ने, लास फाल्ने, फोहोर सफा गर्ने काम गरेरै जीवन बित्नेभो। आफ्ना छोराछोरी पढलेख गरी राम्रो काम गरून् भन्ने चाहना भए पनि पढ्न विद्यालयले स्थान दिने नगर्दा समस्या भएको विनोदले बताए।
टोलैपिच्छे विद्यालय भए पनि त्यहाँ आफ्ना बालबालिकालाई अछूत भनेर पस्नसमेत नदिने गरिएकाले आफूहरूका लागि विद्यालयको केही अर्थ नै नभएको दिनेश डोमले बताए। विद्यालयको सहज पहुँच नहुँदा आफूहरूलाई पढ्नलेख्न समस्या भएको तथा अर्कोतर्फ फोहोरी भनेर समाजले हेला गर्नु निन्दनीय रहेको दिनेशको भनाइ छ।
जनकपुर उपमहानगरपालिकामा मात्रै तीन सयभन्दा बढी डोम परिवार छ। तीमध्ये धेरैका बालबालिका विद्यालय जाँदैनन्।
पढाइलेखाइ नहुँदा कम उमेरमै विवाह हुने र १६ वर्ष कट्न नपाउँदै बालबच्चाको बोझ बोक्नुपर्दा यो समुदायको स्वास्थ्य अवस्था पनि कमजोर हुने गरेको छ। अधिकांशको दैनिक मजदुरी गरी खानुपर्ने अवस्था रहेकाले बालबच्चालाई पनि कामकाजमै लगाउनुपर्ने उनीहरूको बाध्यता छ। अन्नपूर्ण पोस्टबाट ।