काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय बिजुलीको निर्यात बढेको जानकारी सञ्चार माध्यमलाई गराएपछि उद्योगी व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन् । नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति उनीहरूले आक्रोश पोखेका हुन् ।
आफूहरूलाई बिजुली नदिएर विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको भन्दै उद्योगीहरूल विरोध जनाएका हुन् । शुक्रबार उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसंघले विज्ञप्ति नै जारी गरेर प्राधिकरणको विरोध गरेको हो ।
‘सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं’, परिसंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
हाल विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गरेको भए पनि प्राधिकरणले उल्टै निर्यात गरेको प्रति उनीहरूले विरोध गरेका हुन् । प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै नगरेको परिसंघको भनाइ छ ।
यसको मारमा उद्योगहरु परेको परिसंघको भनाइ छ । ‘अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ, प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघ आग्रह गरेको छ । साथै, उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघले माग गरेको छ ।
बिहीबार मात्रै प्राधिकरणले दैनिक चार सय मेगावाट विद्युत निर्यात भइरहेको बताएको थियो । खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको प्राधिकरणको भनाइ थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको बताएका थिए ।
‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ । विगत सात÷आठ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक÷डेढ करोड युनिटको हाराहारीमा रहेकामा हाल बढेर चार÷साढे चार करोड युनिट पुगेको छ’, कार्यकारी निर्देशक घिसिङले भनेका थिए ।