काठमाडौं । यशोदा फुड्सले आफ्नो उत्पादन करेन्ट चाउचाउका बारेमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ । सोमबार कम्पनीले विज्ञप्ति जारी गर्दैै आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाइदै आएको बताएको छ ।
यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउबारे कपोलकल्पित फण्डा तयार गरिएको कम्पनीको ठहर छ । कम्पनीले उपभोक्ताको भावनामाथि खेलवाड नगरेको प्रष्ट पारेको छ ।
उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुदै नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गरिएको कम्पनीको ठहर छ । यशोदा फुड्सले चालु आर्थिक वर्षमा ६० करोडभन्दा बढी उत्पादन विभिन्न मुलुकमा निर्यात गरेको छ ।
कम्पनीले आफ्नै देशमा नेपाली किसानहरूबाट उत्पादित अकवरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठूलो धनराशी विदेश जानबाट रोकेको बताएको छ।
साथै, करीब १ हजार नेपालीलाई प्रत्यक्षय रुपमा तथा सयौं डिलर बिक्रेता मार्फत अन्य हजारौं नेपालीहरूलाई रोजगारी दिलाउन सफल भएको पनि स्मरण गराएको छ ।
‘हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दूरुपयोग गरी कपोलकल्पीत समाचार बनाएको पाइएको प्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता मनोगढंत, कपोलकल्पीत र काल्पनीक कुराहरुको पछाडि नलागि यस उद्योगका उत्पादनहरुको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्नसमेत सादर अपिल गर्दछौ,’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाइ आएको जनाउँदै उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र आम उपभोक्ताको भावनामा माथि खेलवाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरु प्रति सचेत रहेको जनाएको छ ।