बैंकलाई बचाऔं, सञ्जीवनी बुटी चाहियो : अध्यक्ष ढकाल

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको खराब कर्जा बढ्दा चुनौती थपिएको बताएका छन् । मंगलबार महासंघले मौद्रिक नीतिको विषयमा सुझाव दिनका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा बढ्दै गएकोले यसले समग्र बैंकिङ क्षेत्रलाई चुनौती थपिएको बताएका हुन् । उनले खराब कर्जा बढेका कारण अहिले [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको खराब कर्जा बढ्दा चुनौती थपिएको बताएका छन् । मंगलबार महासंघले मौद्रिक नीतिको विषयमा सुझाव दिनका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा बढ्दै गएकोले यसले समग्र बैंकिङ क्षेत्रलाई चुनौती थपिएको बताएका हुन् ।

उनले खराब कर्जा बढेका कारण अहिले बैंकलाई जोगाउनु पर्ने अवस्था देखिएको पनि धारणा राखे । उनले बैंकका लागि संजिबिनी बुटी हुने गरि नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

‘बैंकको खराब कर्जा बढेको बढ्यै छ, कर्जा प्रवाह संकुचित भएकाले आगामी नीतिमा प्रणालीलाई बलियो बनाउँदै कर्जा प्रवाह बढ्ने नीति ल्याउनुपर्छ,’ उनले भने । उनले नेपाल राष्ट्र बैंकले बजार चलायमान गर्ने नीति ल्याउनु पर्ने सुझाव दिए ।

‘उत्पादनमुलक उद्योगको क्षमता बढाउनुपर्छ, ब्याजदर कम गर्नुपर्छ, माग बढाउने नीति ल्याउनुपर्छ, निक्षेपको ब्याजदर घटे पनि कर्जाको ब्याजदर अझैं घट्न सकेको छैन,’ उनले भने, ‘सहकारी र लघुवित्तमा समस्या आएपछि ग्रामिण अर्थतन्त्र साँघुरिएको छ, यसलाई चलायमान गर्ने नीति ल्याउनुपर्छ ।’

यस्तै, उनले कर्जा चुक्ता गरे पनि लामो समयसम्म कालोसूचीमा राख्ने प्रावधान हटाउनु पर्ने धारणा राखे ।

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत् घरजग्गा खुकुलो हुने नीति ल्याउनु पर्ने राय दिए ।

Share News