काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर आवासीय नेपालीको लागि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । वार्षिक १० प्रतिशत व्याज तोकिएको ऋणपत्र ५ वर्ष अवधिको रहेको छ र ६/६ महिनामा व्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
ऋण पत्र खरिद गर्न माघ १७ देखि फागुन १७ गतेसम्म आवेदन खुला गरिएको बैंकले जनाएको छ । रोगगारीका लागि विदेश गई फर्केको ४ महिनाभन्दा बढी अवधि नभएका नेपालीले पनि यो ऋणपत्र लिन सक्नेछन् । विदेशमा रहेका नेपाली नागरिक वा गैर आवासी नेपालीले आफ्नो वा नेपालमा रहेका आफ्ना परिवार सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा छोरी)को नाममा पनि ऋणपत्र लिन सक्नेछन् । ऋणपत्रमा लगानीकर्ताको चाहाना अनुसार बिक्री गर्न वा धितोमा राखि ऋण लिन सकिने सुविधा छ।
राष्ट्र बैंकले ऋणपत्र बिक्री गर्नको लागि सिटिजन्स बैंक इन्टरनेशनल, एनएमबी बैंक, नविल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेन्चुरी बैंक, प्रभु मनि ट्रान्सफर, सिटी एक्स्प्रेस मनि ट्रान्सफर, आईएमई मनि ट्रान्सफर र सेवा रेमिटलाई बिक्री एजेन्ट नियुक्ती गरेको छ ।