काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड लाइन प्रयोग गरेका ६१ वटै उद्योगको सबै तथ्यांक र विवरण संसदको लेखा समितिमा बुझाएको छ ।
बिहीबार प्राधिकरणले सिंहदरबारमा रहेको लेखा समितिको सचिवालयमा तथ्यांक र विवरण बुझाएको हो । ५० हजारभन्दा बढी पेजकाे डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग टिओडी मिटरको डेटा विवरण समितिलाई बुझाएको प्राधिकरणले जनाएको छ ।
उद्योगीहरूले विद्युत प्राधिकरणले प्रमाणविना नै बक्यौता तोकेको आरोप लगाएपछि लेखा समितिले टीओडी मिटरसहितका विवरण र तथ्यांक बुझाउन प्राधिकरणलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार प्राधिकरणले लेखा समितिलाई बिहीबार विवरण पठाएको हो ।
प्राधिकरणले बुझाएको तथ्यांकमा ६१ वटा उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरेको ट्रंक र डेडिकेटेड लाइनको सबै विवरण भएको बताइएको छ ।
मन्त्रिपरिषद्ले निर्देशन दिएको भन्दै ६ अर्ब ६० करोड रुपैयाँ उठाउन प्राधिकरणले उद्योगीहरूलाई पत्र काटेपछि विवाद बढ्दै आएको छ ।