काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए ।
प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरुले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई भने ।
उनले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरुको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताए । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरुले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने जानकारी दिए ।
‘दैनिक मन्त्रालयका मन्त्रीले, सचिवले, सहसचिवले, सिइयोहरुले अधिकृत लेवलभन्दा माथिका सबैको दैनिकीहरु अब सरकारले हेर्नेछ । एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ । आज दिनभरीको कामको परिणाम के आयो ? त्यसको परिणाममुखि कामहरु, त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन ? परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोडनुपर्ने हुन्छ’, उनले भने ।
मन्त्री भण्डारीले सरकारले मन्त्री, सचिवसहितका सबै उच्च पदस्थ कर्मचारीहरुको दैनिक कामको मूल्यांकन गर्ने पनि जानकारी दिए ।