काठमाडौं । २६ वटा बाणिज्य बैंकहरुले पुस मसान्तसम्ममा २० अर्ब ५९ करोड नाफा कमाएका छन् । यीनै बैंकले गत आर्थिक बर्षको सोही अवधीमा जम्मा १४ अर्ब ४ करोड मात्रै नाफा कमाउन सफल भएका थिए ।
चालु आवको पुस मसान्तसम्ममा ६ वटा बाणिज्य बैंकहरु एक अर्ब नाफा कमाउन सफल भएका छन् । गत पुससम्ममा जम्मा चार वटा बाणिज्य बैंकले मात्रै एक अर्ब नाफा कमाउन सफल भएका थिए । यसपाली प्रभु बैंक र हिमालयन बैंक ६ महिनामै एक अर्ब नाफा कमाउने बैंकको सूचिमा थपिएका हुन् । गत पुससम्ममा नेपाल बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय बाणिज्य बैंकले मात्रै एक अर्ब नाफा कमाएका थिए ।
एक अर्ब कमाउन सफल भएका बैंकहरुमध्ये नेपाल बैंक राष्ट्रिय बाणिज्य बैंक दुबै सरकारी हुन् । सबै भन्दा धेरै नाफा नेपाल बैंकले कमाउन सफल भएको छ भने सबै भन्दा कम नाफा कमाउने बैंकको सूचिमा सिभिल बैंक परेको छ ।
सिभिलले १६ करोड ७३ लाख मात्रै कमाएको छ भने सेञ्चुरीले २२ करोड ३९ लाख नाफा कमाएको छ । उता, धेरै कमाउने बैंकको सूचिमा एक नम्बरमा रहेको नेपाल बैंकले एक अर्ब ८९ करोड नाफा कमाएको छ ।


दोश्रो नम्बरमा नविल बैंक रहेको छ । नबिलले एक अर्ब ७४ करोड कमाएको छ भने तेश्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ५८ करोड नाफा कमाएको छ । चौथो नम्बरमा रहेको राष्ट्रिय बाणिज्य बैंकले भने एक अर्ब २१ करोड कमाएको छ । पाँचौंमा रहेको प्रभु बैंकले एक अर्ब ११ करोड कमाएको छ भने छैठौं नम्बरमा रहेको हिमालयनले एक अर्ब २ करोड नाफा कमाएको छ ।
धेरै नाफा कमाउने १० बैंकको सूचिमा एभरेष्ट बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंक परेका छन् । स्ट्याण्डर्ड चाटर्ड बैंक भने ११ औं नम्बरमा रहेको छ ।