काठमाडौं । निक्षेप परिचालनको हिसावले निजी क्षेत्रको बैंक मध्ये उत्कृष्ट बैंक हो नेपाल इन्भेष्टमेन्ट बैंक । पुस मसान्तसम्ममा उसले १ खर्ब १६ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ । उसको कर्जा निक्षेप अनुपात (सीडी रेसियो ७८ प्रतिशत छ ।

१ महिनाअघि यति राम्रो पोजिशनमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि मुद्दती खातामा १२ प्रतिशत व्याज दिने विज्ञापन प्रकाशित गर्यो । अधिकांश वाणिज्य बैंकहरुले मुद्दती खातामा निक्षेपकर्तालाई १२ प्रतिशत व्याज दिने भनेका छन् । शुरुमा उच्च व्याजदरको स्कीम ७० दिन, ८० दिन वा ९० दिन अवधिका हुन्थे, अहिले १ वर्ष अवधिको स्कीमहरु सार्वजनिक भईरहेको छन् । एनएमबी बैंकले त २ वर्ष अवधिको स्कीम ल्यायो १२ प्रतिशत व्याजदरमा । बैंकहरुले जारी गरेको यी स्कीमले तरलताको अभाव लामो समय लम्बिने संकेत गरेको छ ।
माघ महिनामा पनि निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको देखिएको छ । वाणिज्य बैंकहरूले पछिल्लो पाँच सातामा ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सो अवधिमा निक्षेप संकलने १२ अर्ब कम अर्थात ७० अर्ब निक्षेप संकलन गरेका छन् ।
सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार पुस १५ गतेसम्म १८ खर्ब ६६ अर्ब निक्षेप संकलन गरेका बाणिज्य बैंकहरूले माघ २१ गतेसम्म १९ खर्ब ३६ अर्ब रुपैयाँ संकलन गरेका छन् । पुुस दोस्रो सातासम्म १५ खर्ब ३५ अर्ब कर्जा लागनी भएकोमा पाँच सातामा १६ खर्ब १७ अर्ब पुगेको छ ।
बजारमा निक्षेप संकलन पनि उतार चढाव देखिएको छ । गत पुस ३० गते १९ खर्ब ७ अर्ब भएको निक्षेप संकलन माघ १४ गते आइपुग्दा १८ खर्ब ८२ अर्बमा सीमित भएको छ । यसरी हेर्दा १५ दिनको अवधिमा २५ अर्बले निक्षेप घटेको देखिन्छ । यसरी निक्षेप घट्नुको कारण वाणिज्य बैंकहरूको निक्षेप विकास बैंक वा फाइनान्स कम्पनीमा सर्नु भएको बैंकर्सहरुको बुझाईछ ।
पुस ३० पछि निक्षेप संकलन घटेपनि कर्जा लगानी भने बढिनै रहेको छ । पुस ३० गतेसम्म १५ खर्ब ९० अर्ब रहेको बाणिज्य बैंकहरूको कर्जा लगानी माघ १४ गतेसम्म २१ अर्ब रुपैयाँले बढेर १६ खर्ब ११ अर्ब पुगेको छ । बैंकहरुले पहिले नै गरेको प्रतिवद्धता अनुसार कर्जा लगानी गर्दा लगानी विस्तार भएको तर नयाँ कर्जा लगानीको निर्णय ज्यादै कम भएको दाहालले बताए ।