काठमाडौं । ‘गभर्नर साब, अन्य महानुभावहरुमा सम्बोधन यथोचित । बैंक तथा वित्तिय संस्थाहरुले ५ दशमलब ५ प्रतिशतबाट १२ प्रतिशत ब्याज पुर्याउनु कालो बजारी हो की रातो बजारी हो ? नाफैं मात्र कमाउने हो भने गाँजा र चरेश खेतिमा लगानी गर्नुस, मनग्गै आम्दानी हुन्छ’-मंगलबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको व्यवसाय सञ्चालनमा विद्यमान चुनौती तथा बैकिङ क्षेत्रको भूमिका बिषयक कार्यक्रममा व्यवसायी रामप्रसाद श्रेष्ठले भने ।
अर्का व्यवसाय सुन्दर दाहालले केहि महिना अघिसम्म बैंकमा थुप्रिएको निक्षेप मुसाले लगेको हो भन्दै प्रति प्रश्न गरे ।‘हिजोसम्म न्युन ब्याजदरमा ऋण लिन अनुरोध गर्ने बैंकहरुले आज ऋण दिन सक्दैनौं भनिरहेका छन, बैंकमा भएको त्यत्रो पैसा के मुसाले लग्यो, ? त्यसो हो भने ती बैंकहरुमा अप्रेशन गर्नुपर्छ ।’
त्यस्तै अर्का व्यवसाय किशोर अग्रवालले पनि नाफा मात्रै कमाउने बैंकहरुको अभियानका कारण उद्योगी व्यवसायी तथा निक्षेप कर्तामाथी अन्याय भैरहेको बताए । उनले केहि समय पहिले न्युन ब्याजदरमा कर्जा अफर गरेका बैंकहरुले एक्कासी ब्याजदर बढेको एसएमए पठाउँदा आफुहरु व्यवसाय छोड्नुपर्ने अवस्थामा पुगेको आरोप पनि लगाए ।
उद्योगी व्यवसायीको प्रश्न सुनेपछि कार्यक्रमलाई सम्बोधन गरेक गभर्नर डा. चीरञ्जीवी नेपालले बैंकहरुको कर्जा लगानीबारे सुक्ष्म अध्ययन गरिरहेको बताएका थिए । बैंकहरुको काम नाफा कमाउनु मात्रै नभएर निक्षेप कर्ता तथा लगानी कर्ता दुबैको हितको पक्षपोषण गर्नुपर्ने उनको भनाई थियो ।
गभर्नर डा. नेपालले पढाईमा फेल भएकाहरु व्यापारमा लाग्ने परिपाटीले पनि बैंकहरुको ऋण जोखिममा पुग्ने गरेको दावी गरेका थिए ।‘गाउँघरमा पढाईमा फेल भयो भने अब तँ व्यापार गर भन्ने चलन छ, पढ्न समेत नसक्नेले पनि कहीँ सफल व्यापार गर्न सक्छ ?’, गभर्नरले प्रश्न गरे ।
उनले नेपालमा उत्पादन नहुने बस्तु उपभोग नगर्न तथा त्यस्ता समानको आयात नगर्न व्यवसायीलाई आग्रह पनि गरेका थिए ।