काठमाडौं । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९१.३५ अंकले उकालो लागेर अन्तिम दिन १३४३ दशमब ८५ आइपुगेकोे छ । सातामा आइतबार र मंगलबार बाहेक अन्य दिन नेप्से परिसूचक उकालो लागेको थियो । साताभर जम्मा दुई अर्ब ५८ करोड १४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सातामा पाँचै दिन कारोबार भएको बजारमा १५५ कम्पनीको ७९ लाख ७ हजार ७ सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४७ दशमलब ४८ दशमलब ३८ प्रतिशतले बढी हो । रकमका आधारमा गत साताको भन्दा ८४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । गत साता एक अर्ब ७३ करोड ९६ लाख ९१ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो ।
बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ७७५ दशमलब १३ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, वाणिज्य बैंक, जलविद्युत र विकास बैंकको परिसूचक क्रमशः ९२.८, ९२.०६, ८६.६३ र ७३.५ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहको परिसूचक १६ अंकले ओरालो लागेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २०.७५ अंकले बढेर २९२.५२ अंकमा आईपुगेको छ । यस साता पनि सबैभन्दा बढी प्रभु बैंकको १२ करोड ९१ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा लक्ष्मी भ्याल्यु फण्ड १ र कारोबार संख्याको आधारमा पनि प्रभु बैंक नै अग्रस्थानमा रहेको छ ।