काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा करिब १९ करोड रुपैयाँ परिमाणकाे स्मार्ट वाच आयात भएको छ । चालु आवको पौष मसान्तसम्म १८ करोड ८९ लाख रुपैयाँको स्मार्टवाच आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार उक्त स्मार्टवाच आयात हुँदा सरकारले ५ करोड ६८ लाख रुपैयाँ बढी राजस्व उठाएको छ । याे अवधिमा १ लाख ७ हजार वटा स्मार्टवाच आयात भएको तथ्यांकमा उल्लेख छ ।
नेपालमा २२ वटा देशबाट स्मार्ट वाच आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । अस्ट्रेलिया, चीन, भारत, जर्मन, भियतनाम र कोरिया लगायत देशबाट बढीमात्रामा आयात हुने गरेको छ । सबैभन्दा धेरै चीनबाट आयात भएको विभागले जनाएको छ ।
चीनबाट १३ करोड ४७ लाख रुपैयाँ बढीको स्मार्ट वाच आयात हुँदा ४ करोड ५ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ । त्यसैगरी, दोस्रोमा भियतनामबाट ३ करोड १८ लाख रुपैयाँ बढी आयात हुँदा ९५ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
भारतबाट २ करोड ९ लाख रुपैयाँ बढीको स्मार्टवाच आयात हुँदा ६२ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ ।