काठमाडौं । ‘बेरोजगारलाई जागिर दिऊँ, पैसा नभएर तड्पिएकालाई थोरै भएपनि सहयोग गरौं, गाउँबाट कामको खोजीमा राजधानीमा आएकाहरूलाई सेटल गरौं,’ यस्तै मनकारी भावना भरतराज ढकालको मस्तिष्कमा घुमिरहन्थे । विद्यार्थी जीवनमा गाउँबाट काठमाडौं आएर उनको कोठामा बसेका साथीभाइहरूलाई हेरेपछि उनको मनमा यस्तै भावना उब्जिन्थे । तर, यो कसरी सम्भव छ ? उनी आफैलाई प्रश्न गर्थे । फेरि जवाफमा आफैलाई भन्थे, ‘व्यवसाय गर्नुपर्छ ।’ त्यो व्यवसायले हजारौंले रोजगारी पाउन्, लाखौं लाभान्वित बनुन् ।
त्यही मानसिकताका साथ ढकाल अगाडि बढे । स्याङ्जा पुतली बजारमा जन्मिएका उनले कक्षा १० सम्मको पढाइ उतै पूरा गरे । उनी थप अध्ययनका लागि काठमाडौं आए । त्यतिखेर व्यवस्थापनमा विद्यार्थीको आकर्षण थियो । उनले पनि व्यवस्थापन नै पढ्ने योजना नबनाएका होइनन् । तर, गाउँका एक जना काकाले सबैले व्यवस्थापन पढिरहेका छन्, अब तिमी अंग्रेजी पढ भनेर सुझाव दिएपछि उनको योजना बदलियो । उनले मानविकीमा भर्ना भए । पढाइमा अब्बले थिए भरतराज ।
गाउँमा हुँदा प्राचार्य बन्ने इच्छा जाग्थ्यो ढकालमा । तर, सहर पसेपछि रहर र सपना फेरिए । उनको दैनिकी फेरियो । विगत स्मरण गर्दै उनी भन्छन्, ‘पढाइमा अब्बल थिएँ, धेरैले तिमी परारष्ट्रको तयारी गर भनेर सल्लाह दिन्थे तर मलाई सरकारी जागिर खाने इच्छा थिएन, बरु व्यवसाय गर्नुपर्छ भन्ने थियो ।’
काठमाडौंमा जागिर नगरे त्यति सहज थिएन । त्यही समयमा ढकालले पढ्दै काम गर्दै योजना बनाए । काठमाडौंमा पढ्दै गर्दा एभरेष्ट क्यासिनोमा काम सुरु गरे । कमाइ राम्रै हुन्थ्यो । तर, उनलाई अरूको अण्डरमा काम गर्ने जाँगर चलेन । केही समयपछि काम छोडे । अब आफ्नै व्यवसाय गर्नुपर्छ भनेर योजना बनाए । देशमा सहकारी संघसंस्थाको चर्चा थियो । उनले पनि सोही समयमा सहकारी खोले । त्यतिखरे उनी २६ वर्षका थिए । सहकारीको नाम थियो रोयल कोअपरेटिभ ।
सहकारीको शाखा विस्तार गर्ने क्रममा ढकाल पोखरा गए । पोखराबाट स्याङ्जा गए । रोयल कोअपरेटिभले मात्रै उनलाई पुगेन । विभिन्न सामाजिक संस्थाहरूमा आवद्ध भएर सामाजिक काम गरे । त्यो बेला तत्कालीन विद्रोही माओवादीले स्याङजाका बैंक तथा वित्तीय संस्थाहरूमा आक्रमण गरेर ध्वस्त गरेको थियो । सहकारीमा काम गरेपछि उनलाई बैंक खोल्ने रकर जाग्यो ।
त्यसपछि खोले बैंक
जिल्लामा वित्तीय सेवा नहुँदा सामान्य काम गर्न पोखरा पुग्नुपथ्र्यो । स्याङ्जामा निजी क्षेत्रका कुनै पनि बैंक थिएनन् । ढकालले यही समस्यालाई अवसर ठान्दै बैंक खोल्ने योजना बनाए । विसं २०५७ सालमा आफ्ना काकालाई अध्यक्ष बनाएर राष्ट्र बैंकमा बैंक दर्ता गर्न पुगे । तर, राष्ट्र बैंकले सुरक्षाको कारण देखाउँदै बैक खोल्न दिएन ।
‘हामीले सानो रकमबाट बैंक खोल्ने योजना बनाएका थियौं । तर, राष्ट्र बैंकले ५ करोड लगानी गरेर ठूलो संस्था खोल्न भन्यो,’ उनी भन्छन्, ‘हामीसँग पुँजी थिएन, त्यसपछि बैंक खोल्ने योजना रोकियो ।’ उनले हार भने खाएनन् । अब साथीसँग छलफल अगाडि बढाउन थाले । कस्तो बैक बनाउने, कसरी काम गर्ने भन्ने विषयमा साथीहरूसँग अन्तक्र्रिया बढाउन थाले ।
अन्ततः २०६३ साल पुस २९ गते ढकालले स्याङजा, तनहुँ र कास्की तीन जिल्लालाई केन्द्रित गर्दै मुक्तिनाथ विकास बैंक स्थापना गरे । विसं २०६३ सालदेखि २०७५ सालसम्म उनले बैकको प्रकुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरे । कास्कीका नागरिकलाई लक्षित गर्दै सुरुमा मुक्तिनाथ विकास बैंकको स्थापनामा अगुवाइ गरे । २०६३ सालमा स्याङ्जाजस्तो एउटा गाउँबाट सुरु गरेको यो बैंक अहिले अधिकांश सूचकमा नेपालको सबैभन्दा राम्रो विकास बैंकको रूपमा स्थापित भएको छ । बैकिङ क्षेत्रमा भरतराज ढकाल स्थापित नाम हो ।
स्याङ्जामा सरकारी बैंकले पनि ठूलो कारोबार नगर्ने, कर्जाको झन् कारोबार नै नगर्ने अवस्थामा उनले बैंकिङ कारोबारलाई आम सर्वसाधारणको पहुँचमा प¥याए । आधुनिक बैकिङ, ग्रामीण बैंकिङ, लघुबैंकिङ एकैसाथ सञ्चालन गर्ने भन्ने नारा पनि लगाइन्थ्यो । भरतराज र उनका साथीहरूले २०६६ सालमै कृषिको विषयमा गीत गाएर एल्बम पनि निकालेका थिए । त्यो एल्बमको नाम नै बंैकिङ जागरण अभियान थियो । त्यो गीत बजाउँदै स्याङजा, तनहुँ र कास्की तीन जिल्लामा जहाँ मोटरबाटो छ, त्यहीं पुग्थे उनी ।
‘फरक तरिकाले काम गरियो, समूदायले पनि विश्वास गरे,’ ढकाल भन्छन्, ‘बैंकको कार्यक्षेत्र विस्तार गर्दै लगियो । वर्षैपिच्छे हकप्रद सेयर निकाल्दै पुँजी वृद्धि गर्दै गयौं । तीन जिल्लाबाट सुरु, १० जिल्ला हुँदै राष्ट्रिय स्तरको विकास बैंक बनायौं ।’
त्यो बेला उनले मुक्तिनाथ विकास बैंकमा समुदायको विश्वास जित्न ‘जनता बैंकसँग हैन, बैंक जनतामा जानुपर्छ’ भन्ने नारा लगाए । यसले नागरिक खुसी भए । राष्ट्र बैंकलगायत सबैतिरबाट बैंकको नाराको प्रशंसा भयो । तर, तत्कालीन जनता बैंक नेपालले यसको विरोध गरेको उनी स्मरण गर्छन् ।
‘जनता बैंकले राष्ट्र बैंकमा गएर लिखित उजुरी ग¥यो,’ ढकाल भन्छन्, ‘त्यो बेला केही झमेला पनि भयो, अब म त्यसबाट सेचत छु, कागजी रूपमा कडा बन्नुपर्दो रहेछ ।’
सुरुमा बैंक खोल्दा उनी हाँसोका पात्र बनेका थिए । ‘बैंक खोल्छुभन्दा धेरैले मजाक ठाने, कतिपयले हौसला पनि दिए । बैकिङ अनुभव छैन, कसरी बैंक चलाउँछस् पनि भने,’ उनी सुरुवाती दिन स्मरण गर्दै भन्छन्, ‘केही साथीले सहयोग गरेपछि बैंक खोल्यौं, त्योबेला दूरदराजमा गएर वित्तीय सेवा दिने बैंक नै मुक्तिनाथ विकास बैंक थियो ।’
बैंकपछि कृषि कम्पनी
मुक्तिनाथ विकास बैंकको व्यवस्थापकीय र सञ्चालक समितिको नेतृत्व गरिसकेका ढकालका पाइला अहिले कृषिमा लम्किरहेका छन् । मुक्तिनाथ कृषि कम्पनीका नाममा उनले कृषिमा लगानी बढाइरहेका छन् । उनले विसं २०६९ सालमा राष्ट्र बैंकमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीका नाममा मुक्तिनाथ कृषि कम्पनी दर्ता गरेका थिए ।
यसको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैंक नै हो । जहाँ बैंकको २२.२ प्रतिशत सेयर लगानी छ । अन्य ९०१ प्रवद्र्धकहरूको ५७.८ प्रतिशत र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणको सेयर छ । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत कृषि समूहको यो पहिलो कम्पनी हो । नेपालको कृषि क्षेत्रमा काम गरी नेपालको अर्थतन्त्र सुधार गर्ने उद्देश्यले २०७५ साल भदौ १५ गते यो कम्पनी सञ्चालनमा आएको हो ।
७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीको बजार पुँजीकरण १० अर्ब रुपैयाँ भन्दा बढी छ । १०० रुपैयाँ अंकित सेयर मूल्य हाल करिब १५०० रुपैयाँ छ । केही महिनाअघि यसको मूल्य १९६० रुपैयाँसम्ममा कारोबार भयो । ‘कम्पनी स्थापना भएको ६ वर्ष मात्र भएको छ । अहिले नै कम्पनीले नाफा काएर सेयरधनीलाई लाभांश खुवाउने अवस्था छैन । तर, यस कम्पनीको भविष्यप्रतिको आशा र यसका लगानीकर्ता तथा व्यवस्थापनप्रतिको भरोसा बजारमा गरेको छ,’ प्रबन्ध निर्देशक ढकालले भने । ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ नाराका साथ कृषि क्षेत्रमा नवीनतम् काम यो कम्पनीले गरिरहेको छ ।
मुक्तिनाथ कृषि कम्पनीका विभिन्न १० वटा सहायक कम्पनीहरू छन् । मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक रहेका छन् । यस्तै, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फूड बैंक, मुक्तिनाथ आइटेक बैंक, मुक्तिनाथ क्लाइमेट केयर बैंक, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ ट्रेडिङ लिमिटेड मुक्तिनाथका सहायक कम्पनी हुन् । उनका अनुसार यी कम्पनी पब्लिक लिमिटेड स्वरूपमा दर्ता भइसकेका छन् ।
यी कम्पनीले अहिले २ सयजना भन्दा बढीलाई रोजगारी दिरहेको छ । कृषि र यसका सहायक कम्पनीले अबको ५ वर्षमा २५ सय जनालाई रोजगारी दिलाउने योजना बनाएको छ । मुक्तिनाथ कृषि कम्पनीलाई पनि त्यसैगरी देशभर फैलाउने ढकालको योजना छ ।
बैंकको सुरुवात नै किसानलाई वित्तीय सेवा दिएर सुरु भएको स्मरण गर्दै उनी भन्छन्, ‘नागरिकले सेवा लिँदै गर्दा बैंकबाट लिएको कर्जा कृषिमा लगानी गरेँ, कृषिको उत्पादनलाई बजारीकरणको लागि फेरि मुक्तिनाथ बैंकसँग ठोक्किए र यो बैंकले उहाँहरूको बजारीकरण गर्न विभिन्न निकायसँग छलफल ग¥यो तर सफल भइएन ।’

‘केही सीप नलागेपछि उनीहरूको उत्पादन आफैले लिन थाल्यौं, किसानहरूलाई झन् विश्वास बढ्यो । मल, बीउ, कृषि उपकरणका लागि उनीहरू सम्बन्धित निकाय खोज्न थाले, हामीसँग किसानको सम्बन्ध थप प्रगाढ भएको छ,’ उनले थपे ।
ढकाल कृषि कम्पनीलाई नम्बर वान बनाउने योजनामा छन् । ‘जसरी मैले गाउँबाट सुरु गरेको बैंकलाई राष्ट्रको एक नम्बरमा पु¥याएँ, अब कृषि क्षेत्रलाई पनि देशभर फैलाउने योजना छ,’ उनले भने ।
‘नीतिमा कृषिको व्यावसायिकरण भनियो, काम मगन्ते तरिकाले गरियो । कृषि भनेको विज्ञान हो । यो अनुसन्धानमा आधारित हुनुपर्छ ।’ बैंकिङ क्षेत्रमा सफलता चुमेका भरतराज ढकाल प्रष्ट विचारका साथ दर्जन कम्पनीको नेतृत्व गर्दै कृषि क्षेत्रको रूपान्तरणमा होमिएका छन् ।
फरक कम्पनीका फरक काम
कतिपयलाई लाग्छ, कृषि भनेको रासायनिक मल धेरै प्रयोग गर्नुपर्ने क्षेत्र हो । तर, नेपालमा रासायनिक मल आउन अति कठिन छ । यसको अन्तर्राष्ट्रिय बजारमा कस्तो चुनौती छ, त्यसको मूल्यको अवस्था के छ भन्ने विषयमा किसानलाई जानकारी नै हुँदैन । आजभोलि रासायनिक मलको प्रयोगले अम्लीय पदार्थ वृद्धि भई माटोको उर्वराशक्ति ह्रास आउने गरेको कुरा आइरहेको छ । मुक्तिनाथ फर्टिलाईजर बैंकले अर्गानिक मल निर्माणका विषयमा काम गरिरहेको छ । स्थानीय स्तरमा मल कसरी बनाउने ? यसका लागि के–के चाहिन्छ ? कसरी बनाउने ? भन्ने विषयमा यसले काम गर्छ । फर्टिलाइजर बैंकले चितवनको भरतपुर महानगरपालिकामा १५ रोपनी जग्गा लिएर फार्म सञ्चालन गरेको छ ।
यस्तै, नर्सरी बैंकले देशभर रहेका नर्सरी सस्ंथासँग सम्झौता गरेर फलफूलका बोट उत्पादनको काम गरिरहेको छ । यो बैंक आफैले स्याङ्जा र चितवनमा बिरुवा उत्पादन गरिरहेको छ । यस्तै, लाइभस्टक बैंकले पशुपन्छीसँग सम्बन्धित काम गर्छ । उसलाई कस्तो खानेकुरा चाहिन्छ, रोग लाग्दा कसरी उपचार गर्ने लगायत क्षेत्रमा काम गरिरहेको छ । यस्तै, हर्वल बैंकले जडिबुटीका विषयमा काम गर्छ । उत्पादन बढाउने, प्रोसेसिङ गर्ने, गुणस्तर कायम गर्ने, बजारीकरण गर्ने लगायतका काम गरिरहेको छ ।
त्यस्तै, फुड बैंकले खानाको विषयमा काम गर्छ । आजभोलि नेपालीहरू बिरामी पर्नुको पछाडि खाना नै सबैभन्दा ठूलो कारण हो । धेरै मानिसलाई के खान हुन्छ, के हुँदैन भन्ने थाहा छैन । कुन समयमा के खाने, कुन उमेरमा के खाने भन्ने कुरा समेत थाहा छैन । यो विषयमा जानकारी दिन खाद्य साक्षरता अभियान चलाउन फुड टेक्निसियन राखेर कम्पनीले फूड बैंक सञ्चालन गरिरहेको छ ।
किसानहरूले काम गर्दा प्रयोग गर्ने कृषि औजारहरूमा अहिले नयाँनयाँ प्रविधिहरू विकास भइरहेका छन् । यी सामग्रीहरू विभिन्न देशबाट आयात भइरहेका छन् । यसलाई मध्यनजर गर्दै मुक्तिनाथ कृषि कम्पनीले कृषि मेसिनरीको काम पनि गरिरहेको छ । कम्पनीले कृषि प्रविधिको प्रयोगलाई प्रर्वद्धन गर्दै कृषिमा उत्पादकत्व वृद्धिका लागि कृषि मेसिनरी सामान बनाइरहेको ढकालले बताए ।
‘हामीले नेपालका भू-बनोटको आधारमा सुहाउने मेसिनरी सामग्री निर्माण गरिरहेका छौं, यस्ता सामग्री निर्माणमा धेरैलाई सघाउने उद्देश्यका साथ तालिम पनि दिने काम गछौं,’ उनले भने ।
अन्य कम्पनीले उत्पादनतर्फ काम गर्छन् भने मुक्तिनाथ टे«डिङ कम्पनीले उत्पादन भएका कृषि उपजको बजारीकरणको काम गर्छ । प्रविधि क्षेत्रमा काम गर्न आइटेक कम्पनीे छ भने अर्को मुक्तिनाथ क्लाइमेट केयर कम्पनी पनि छ । अहिले विश्व समुदायमा बहसको चर्चामा आएको जलवायु परिवर्तनका विषयमा यो कम्पनीले अध्ययन अनुसन्धानको काम गरिरहेको छ ।
मुक्तिनाथ कृषि कम्पनी र यसका सहायक कम्पनीले नेपालका विभिन्न जिल्लाहरूमा कृषि उत्पादनको क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी उत्पादन तथा सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले सातवटै प्रदेशमा स्थापना भएका प्रादेशिक कार्यालयहरू, २ सय भन्दा बढी वितरण च्यानल र कृषि स्रोत केन्द्रहरूमार्फत देशभरका ७० भन्दा बढी जिल्लामा वस्तु तथा सेवा पु¥याउँदै आएको ढकालको भनाइ छ ।
युवालाइ आकर्षित गर्न ‘बैंक’
ढकालले हरेक सहायक कम्पनीको पछाडि बैंक थपेका छन् । यो उनले अपनाएको टेक्निक हो । युवालाई कृषिमा आकर्षित गर्ने रणनीति हो । नेपालमा कृषि क्षेत्रमा काम गर्नेलाई हेर्ने नजर अन्य क्षेत्रको तुलनामा पृथक छ । युवालाई जागिर गर्ने रुचि छ तर कृषि गर्ने इच्छा छैन । बैंकमा युवाको आकर्षण छ । त्यही आकर्षणलाई कृषिमा तान्न उनले हरेक कम्पनीको पछाडि बैंक थपेका हुन् ।
कम्पनीको पछाडि नाम राखेर काम गर्दा भोलिका दिनमा विवादित विषय बन्दैन ? भन्ने प्रश्नमा ढकाल भन्छन्, ‘भोलि कुनै नियामक निकाय आयो, यो नामले पनि भोलि कुनै समस्या आयो भने एउटा कुरा हो, नभए त्यसो नहोला, बरु यो नामले युवाहरूको आकर्षण यो क्षेत्रमा बढ्न सक्छ ।’
हाम्रो अर्थतन्त्रको आधार विगतमा कृषि भए पनि यसलाई दुःखको रूपमा हेर्दा आकर्षण नभएको उनको भनाइ छ । बैंकको लोभलाग्दो जागिर छोडेर ढकाल कृषिमा लागे । उनले जसरी बैंकमा मिहिनेत गरे, अहिले कृषि कम्पनीमा गरिरहेका छन् ।
एक समयको मुक्तिनाथ विकास बैंक अब बैंक मात्र रहेन । यो ग्रुप बनिसकेको छ । ऊसँग बैकसँगै अहिले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ कृषि कम्पनी र यसको १० वटा सहायक कम्पनी छन् । यी सबै पब्लिक कम्पनी हुन् । यी १० कम्पनीमध्ये ९ वटा कम्पनीको २० प्रतिशतका दरले पब्लिकमा सेयर आउँछ । उनी यो ग्रुप धेरै मान्छेले अवसर पाउने ठाउँ बन्न सक्ने धारणा राख्छन् ।
नेपालमा कृषिजन्य सामग्री ४ खर्ब बढीको आयात हुन्छ । यसलाई रोक्न चाहन्छन् ढकाल । ‘बैंक तथा वित्तीय संस्थाहरूले जसरी निक्षेपकर्ता र ऋणीको बीचमा गएर काम गर्छन्, त्यसरी नै हामीले पनि किसान र उपभोक्तबीचको मध्यस्थकर्ता गर्ने काम थालेका छौं,’ उनी भन्छन्, ‘त्यसैले पनि हाम्रा कम्पनीको नाम नै बैक राखेका हौैं, नाम पनि कार्यविधि बनाएर राखिएको हो, ताकि भोलि बैंक भन्ने शब्दलाई कसैले विवादको विषय नबनाउन् ।’
दुई दशक बैंकिङ क्षेत्रमै बिताएका ढकाल अब बाँकी जीवन कृषिमै बिताउन चाहन्छन् । अझ बढी उनी युवालाई कृषिमा आकर्षित गर्न चाहन्छन् । विसं २०४६ सालअघि नेपालमा सबैभन्दा राम्रो क्षेत्र कृषि नै थियो । सबैभन्दा धेरै संलग्नता पनि यही क्षेत्रमा थियो । किनकि त्यो बेला अहिले जस्तो सबै व्यक्ति पढेलेखेका थिएनन् । तर, मान्छे पढेपछि कृषि गर्न छोडेको उनी बताउँछन् ।
‘आजभोलि मान्छेले जागिर गर्न थाले, कृषि गर्नै छोडे,’ ढकाल भन्छन्, ‘जागिर खान थालेपछि मान्छे कृषिबाट पलायन हुन थाले, जुन हाम्रोजस्तो देशका लागि राम्रो होइन । युवाहरू पलायन हुनु देशका लागि राम्रो होइन, यसले पछि समस्या ल्याउँछ । त्यसैले म कृषिमै जोड दिएर युवाहरूलाई यो क्षेत्रमा आकर्षित गराउन खोजिरहेको छु ।’
उनका अनुसार मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा आएको केही समयमै ठूलो नोक्सान बेहोर्नु प¥यो । ‘सरकारले रासायनिक मल आयातका लागि बोलपत्र आह्वान गरेको थियो, मल आयातको टेण्डर हामीले पायौं, जुन मूल्यमा सरकारसँग सम्झौता भएको थियो । कोभिडका कारण अस्वाभाविक रूपमा मूल्यवृद्धि भयो । एलसी खोलिसकेको सप्लायर्सले सामान दिन सकेन, ऊ भाग्यो । त्यो बेला अन्तर्राष्ट्रिय अदालतमा गएर मुद्दा हाल्न सकिने अवस्था पनि भएन,’ उनी भन्छन्, ‘कम्पनीले १० करोड नोक्सान बेहोर्नुप¥यो ।’
कृृषिमा देखिएको सकस
नेपालको कृषि क्षेत्रमा विविध समस्या छन् । अहिले हाइब्रिड बीउको आयातमा समस्या देखिएको छ । यो बीउनले बालीमा फल नलाग्ने समस्याहरू देखिने गरेको छ । पहिले पहिले किसानहरूले आफूलाई चाहिने बीउ आफै उत्पादन गर्थे । तर, सरकारले अनुदान दिने नाउमा बीउ पनि अनुदान दिन थालेपछि फल नै नलाग्ने समस्या देखिएको उनको भनाइ छ ।
‘केही समय पहिले सरकारले मेसिनरी सामानमा बढी अनुदान दिन्थ्यो । तर, आजभोलि बीउ नै अनुदानमा दिन थालेपछि सरकारले किसानलाई थप बिगार्न थाल्यो,’ उनी भन्छन्, ‘बीउ अनुदान दिन सुरु भएपछि किसानले अनुदान नपाउने पीरले बीउ जोगाउन छोडे । तर त्यो बीउ हाम्रो माटो, हावापानी सुहाउँदो भएन जसले गर्दा किसानले लगाएको बालीमा फल नै लाग्दैन ।’
सरकारको गलत नीतिका कारण एकातिर रैथाने बीउ नष्ट हुँदै गएको छ भने अर्कोतिर नेपालमा आएको हाइब्रिड बीउमा ठूलो समस्या देखिएको छ । यो चुनौतीको सामना गर्न कृषि क्षेत्रमा कठिन भएको ढकाल बताउँछन् । ‘खुल्ला सिमाना छ, किसानले पनि बीउ सस्तो खोज्छन्,’ उनी भन्छन्, ‘सस्तो सामान बलियो हुँदैन र बलियो सामान सस्तो हुँदैन, जसका कारण यो समस्या देखिएको छ ।’
कतिपय बीउ हाम्रो हावापानी माटोमा सुहाउँदो खालको हुँदैन । जबसम्म नेपालमा ठूला कम्पनीले नै सरकारबाट लाइसेन्स लिएर विभिन्न रैथाने बीउलाई प्रदान गर्ने र हाइब्रिड बीउलाई नेपालको हावापानी माटो सुहाउँदो तरिकाले उत्पादन गर्दैनन् तबसम्म बीउमा यस्ता समस्याहरू आइरहने ढकालको दाबी छ । नेपालमा अहिले उत्पादन र उत्पादकत्व कम हुने कारण नै एउटा बीउ भएको उनको निष्कर्स छ ।
अन्तर्राष्ट्रिय बजारबाट असंगठित तरिकाले आयातित बीउ वितरण भइरहेको छ । किसानले खेती नफलेको गुनासो पटक–पटक गर्दा पनि सरकारी संयन्त्रबाट कुनै कडा कारवाही तथा नियन्त्रण नगरेको ढकालको बुझाइ छ । बीउको समस्या गम्भीर बन्दै गएपछि मुक्तिनाथ सीड बैंक स्थापना गरेर काम थालिएको उनले बताए । लोप हुँदै गएको रैथाने बीउलाई जोगाउन सीड बैंकले विभिन्न सहकारीसँग मिलेर बीउलाई समयअनुसार कुन ठाउँमा कुन बीउ उत्पादन गर्ने, त्यसको उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ रिसर्च एण्ड डेभलपमेन्ट विभाग नै स्थापना गरी काम थालिएको उनी बताउँछन् ।
यसका लागि छुटटै प्राविधिकहरूको समूह छ । रैथाने बीउ प्रवद्र्धनसँगै अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न हाइब्रिड बीउलाई नार्कमा लिएर पहिले परीक्षण गर्ने र परीक्षण गरेको बीउ किसानकहाँ पठाउने काम यो विभागले गरिरहेको छ । यसरी वितरण गरिएको कुनै बीउले फल दिएन भने यसका लागि छुटट्ै कोष निर्माण गरी क्षतिपूर्तिसमेत दिने गरेको छ । मुक्तिनाथ सीड बैंकले उत्पादन गरेको बीउमा कुनै कमजोरी भयो भने यसको जिम्मेवारी पनि कम्पनीले लिने गरेको छ ।
एकीकृत कृषि प्राधिकरणको प्रस्ताव
नेपालको कृषि क्षेत्रलाई प्रभावकारी बनाउने हो भने राज्यले कृषिसम्बन्धी छरिएर रहेको नीति परिवर्तन गर्नुपर्ने ढकालको तर्क छ । यसका लागि सरकारले एकीकृत कृषि विकास प्राधिकरण बनाउनुपर्ने र त्यो पनि निकै शक्तिशाली हुनुपर्ने उनको राय छ ।
अहिले उत्पादनका लागि कृषि मन्त्रालय, बजारको लागि हो भने अर्को मन्त्रालय, जमिनको लागि अर्कोतिर जानुपर्ने बाध्यता छ,’ उनी भन्छन्, ‘छरिएका सरकारी संरचना र छरिएको नीतिलाई एकीकृत गरेर जबसम्म प्राधिकरण बन्दैन, तबसम्म यस्ता समस्या रहिरहन्छन् । अब यो कुरामा ध्यान दिनुपर्छ ।’
ढकाल अहिले स्थानीय तह, प्रदेश र केन्द्रीय गरी तीनवटै सरकार र विभिन्न सरकारी निकाय, गैरसरकारी संस्थाले कृषि क्षेत्रमा काम गरिरहेको भन्दै त्यसको नतिजा नआएको बताए । उनले यो विषयमा सरकारलाई राय पनि दिइसकेको जानकारी दिए । ‘कृषि भनेको विज्ञान हो । यो अनुसन्धानमा आधारित हुनुपर्छ । हचुवाका भरमा काम गरेर हुँदैन । यो क्षेत्रमा काम गर्ने यस्तो एउटा संस्था बनोस्, जसले निजी क्षेत्रलाई आकर्षित गरोस्,’ उनी भन्छन् ‘नीतिमा कृषिको व्यावसायिकरण भनियो, काम मगन्ते तरिकाले गरियो । यसो गरिनु हुँदैन ।’