एकैदिन ४ हजारले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ एक हजार रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए । ‘अमेरिकी डलरको मूल्यवृद्धि, अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो’, उनले भने ।

Share News