
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नेपालमा ६२ अर्बभन्दा बढीको सवारीसाधन भित्रिएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार सरकारले यी सवारीसाधन आयातबाट मात्रै ४८ अर्ब रुपैयाँ भन्सार राजश्व सङ्कलन गरेको छ ।
६२ अर्बमध्ये २ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्याक्टर भित्रिएको छ भने ६ अर्ब ९ करोड रुपैयाँ बराबरको मिनीबस, कार, जिप भ्यान, ५ अर्ब ९४ करोड बराबरको अन्य सवारीसाधन र १६ अर्ब ६४ करोड रुपैयाँ बराबरको इलेक्ट्रिक सवारीसाधन (ईभी) स्वदेश भित्रिएका हुन् ।
यसैगरी, ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रक तथा अन्य निर्माण सम्बद्ध सवारीसाधन, ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको पार्टपुर्जा, १६ अर्ब ११ करोड रुपैयाँ बराबरका मोटरसाइकल, १ अर्ब २२ करोडको साइकल तथा २ अर्ब ९० करोड बराबरको अन्य गुडाउने खालका वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ।
यो अवधिमा सरकारले ट्याक्टर आयातबाट २६ करोड ६७ लाख रुपैयाँ, बस मिनिबस, कार जिप भ्यान लगायतमा २ अर्ब २३ करोड, अन्य सवारीसाधन ११ अर्ब ३६ करोड, ईभीमा १० अर्ब २२ करोड, ट्रक तथा अन्य निर्माण सम्बद्ध सवारी साधनमा ३ अर्ब ७६ करोड, पार्टपुर्जा आयातमा २ अर्ब ९५ करोड, मोटरसाइकलमा १६ अर्ब १ करोड, साइकलमा २४ करोड ३० लाख र अन्य गुडाउने खालका वस्तुबाट ९८ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
आठ महिनाको अवधिमा कुल ७ हजार ८९ वटा इलेक्ट्रिक सवारीसाधन आयात भएका छन् ।
जसमध्ये एसेम्बल नगरिएका ५० किलोवाटसम्मका सवारीसाधन ९ वटा, ५० किलोवाटसम्मका सवारीसाधन २ हजार ५३१, ५१ देखि १०० किलोवाटसम्मको सवारीसाधन ३ हजार ८७९, १०१ तथा २०० किलोवाटसम्मका ६५४, २०१ देखि ३०० किलोवाटसम्मको १४ वटा र त्योभन्दा बढी क्षमताका २ वटा सवारीसाधन आयात भएको भन्सार विभागले जनाएको छ ।