नेपालमा हिजो मात्र सम्पन्न राजावादीहरूको आन्दोलनले फेरी एकपटक देशभर चर्चा पायो । तर, यस आन्दोलनले राजतन्त्रप्रति जनताको सम्मान, सद्भाव बढाउनुको सट्टा घटाएको देखिन्छ। स्पष्ट छ-नेपालमा राजतन्त्र फर्कने वाला छैन।
राजावादी आन्दोलनहरूलाई अगुवाइ गर्ने व्यक्तिहरू, विशेष गरी दुर्गा प्रसाईँ जस्ता अराजक व्यक्तिहरू योजनाकार बन्दा, जनताले सुरुमा देखाएको समर्थन क्रमशः हराउँदै गएको छ। कुनै पनि आन्दोलनको दीर्घकालीन प्रभाव हुन्छ, तर यस्तो नेतृत्वकै कारण राजावादी धारको उचाइ घट्दै गएको देखिन्छ।
हामीले सधैं आन्दोलन नै हेर्नुपर्ने हो ?
नेपालको इतिहासमा निरन्तर व्यवस्था परिवर्तनका आन्दोलनहरू देखिएका छन्। प्रश्न उठ्छ-के हाम्रो पुस्ताले जीवनभर आन्दोलन मात्रै हेर्नुपर्ने हो ?
मानौं, कुनै दिन राजावादीहरू सफल भए र राजतन्त्र फर्कियो भने, त्यसपछि के हुन्छरु के कसैले गम्भीर रूपमा यसबारे सोच्नुभएको छ ? गणतन्त्र पक्षधरहरू चुप लागेर बस्लान् ? निश्चित रूपमा होइन। उनीहरू फेरि आन्दोलन गर्नेछन्, ‘राजतन्त्र मुर्दाबाद’ भन्दै सडकमा उत्रनेछन् । यसरी निरन्तर आन्दोलनकै दुष्चक्रमा नेपाल फसिरहने हो त ?
राजतन्त्र फर्काएर विकास सम्भव छ ?
राजावादी आन्दोलनका समर्थकहरूसँग एउटा गम्भीर प्रश्न छ-तपाईंहरूको देश विकास गर्ने योजना के हो ?
के तपाईंहरू लाई लाग्छ ? राजतन्त्र फर्केपछि एक झट्कामै देशको विकास हुन्छ ? कि तपाईंहरूलाई केवल राजाको पद मात्र फर्काउन रहर छ ? व्यवस्था मात्र परिवर्तन गरेर देश समृद्ध बन्ने भए, आजसम्म भएका परिवर्तनहरूले नेपाललाई किन समृद्ध बनाउन सकेनन् ?
समस्या व्यवस्थामा मात्र होइन, नेतृत्व गर्ने जनप्रतिनिधि र कर्मचारीहरूमा पनि छ। नेतृत्व स्वच्छ, दूरदर्शी र सक्षम भए जुनसुकै प्रणालीमा पनि देश अगाडि बढ्न सक्छ।
समाधान के हो ?
मेरो अनुरोध छ-यदि तपाईंहरू देश विकास नै चाहनुहुन्छ भने, भएको व्यवस्थालाई सुधार गरेर अघि बढौं। गणतन्त्रवादी र राजावादीहरू संवादमा बसौं, छलफल गरौं, सहमति खोजौं। देश विकासको स्पष्ट योजना बनाऔं। आन्दोलन भन्दा मिलेर काम गर्नु दीर्घकालीन समाधान हो।
नेपालले अब निरन्तर आन्दोलन होइन, स्थिरता र सहकार्य खोज्नु आवश्यक छ।