काठमाडौं । चैत १५ गते राजा वादी समर्थकहरूले गरेको आन्दोलनबाट क्षति हुँदा ५ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हुलदङ्गाको कारणले भएको क्षतिबाट ११ बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।
साथै बीमा कम्पनीहरूमा ४३ वटा दाबी परेका छन् भने ३ वटा दाबीको भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । ३ वटा बीमा दाबी बापत ४५ हजार रुपैयाँ भुक्तानी गरिएको हो ।
प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाका ३७ लाख रुपैयाँको ३ वटा दाबी परेका छन् । मोटर बीमा (निजी)योजनामा १ करोड २९ लाख रुपैयाँ बराबरका २२ वटा दाबी परेका छन् । साथै उक्त बीमा योजनामा २ वटा बीमा लेखको ४३ हजार रुपैयाँ दाबी भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ ।
यस्तै, सम्पत्ति बीमा योजनाका १६ वटा बीमालेखका ३ करोड ११ लाख ६६ हजार रुपैयाँ बराबरको दाबी परेको छ भने विविध तर्फ २ वटा दाबीको १० लाख १ हजार रुपैयाँको दाबी परेको छ । राज वादी आन्दोलनबाट भएको क्षतिमा सबैभन्दा धेरै दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ ।