चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकमा भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भरतपुर महानगरपालिकाको परिसरमा आयोजित कार्यक्रममा स्थानीय वडावासीहरूले विकास योजनाहरूको प्रशंसा गर्दै थप सुशासन र अति आवश्यक योजनाहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले चार महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गौतमबुद्ध रंगशाला, महानगर प्रशासकीय भवन, पुङ्गी खोला व्यवस्थापन, सिटी हल निर्माण, केरुङ्गा नाला सौन्दर्यकरण, मेशजाली फाउण्डेशन, ६ लेन सडक निर्माण, फोहोरमैला व्यवस्थापन तथा उज्यालो भरतपुर कार्यक्रमलगायतका योजनाको प्रगतिबारे जानकारी गराए ।
कार्यक्रममा प्रमुख रेनु दाहालले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूलाई एकसाथ अघि बढाइएको उल्लेख गरिन् । उनले अबको कार्यकालमा अझै धेरै विकासका काम अघि बढ्ने र भरतपुरवासीलाई सन्तुष्ट बनाउन महानगर प्रतिबद्ध रहेको बताइन् ।
प्रमुख दाहालले संघीय सरकार, प्रदेश सरकार तथा साझेदार निकायहरूबाट सञ्चालित विकास योजनामा कुनै गुनासो नआउने गरी गुणस्तरीय काम गर्न निर्देशन दिएकी छन् ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई योजनाबद्ध, सन्तुलित, दिगो र आत्मनिर्भर विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै महानगरवासीको रचनात्मक सुझावलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार आर्थिक वर्ष ०८१/८२ को लागि विनियोजित ६ अर्ब ५६ करोड १ लाख ४३ हजार रुपैयाँमध्ये १ अर्ब ९९ करोड खर्च भइसकेको छ । जुन कुल बजेटको ३६.४९ प्रतिशत हो ।
त्यसैगरी, १ अर्ब ८० करोड राजस्व संकलनको लक्ष्य लिइएकोमा हालसम्म ७७ करोड १७ लाख ५४ हजार १३७ रुपैयाँ संकलन भइसकेको छ । जुन लक्ष्यको ४३ प्रतिशत हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले भरतपुर महानगरपालिकाले जनमुखी भएर नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गरे।
भरतपुर महानगरपालिकाले सार्वजनिक सुनुवाईमार्फत स्थानीय सरकार र नागरिकबीचको अन्तरक्रियालाई मजबुत बनाउँदै आएको छ। महानगरले आगामी दिनमा अझ पारदर्शी र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न कटिबद्ध रहेको जनाएको छ।