अनुमति बिना सडक खन्नेलाई महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५, स्वयम्भूमा अनुमति बिना सार्वजनिक सम्पत्ति कालोपत्रे सडक खनेर क्षति पुर्याएपछि महानगर प्रहरीले कारबाही गरेको छ । महानगर प्रहरी बलले दोषी ठहर गर्दै छिरिङ गुरुङलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगरपालिकाले सार्वजनिक संरचना र सडक सुरक्षामा कडाइ गर्दै अवैध गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्ने नीति अपनाएको जनाएको छ ।

अनुमति नलिई सडक खन्दा यात्रु तथा सवारी आवागमनमा बाधा पुर्याइनुका साथै पूर्वाधारको क्षति बढ्ने भएकाले महानगरले निगरानी बढाएको हो ।

महानगर प्रहरी बलले आगामी दिनमा पनि अनधिकृत रूपमा सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने जो-कोहीलाई कारबाही गरिने चेतावनी दिएको छ ।

महानगरका अनुसार, यस्ता कार्यले सहरी संरचनामा क्षति पुग्ने मात्र नभई सर्वसाधारणलाई समेत असुविधा पुर्याउने भएकाले निगरानी अझ कडा बनाइने छ ।

Share News