संकटमा नाडा अटो शो, ३ कम्पनी मात्र इच्छुक

काठमाडौं । अटो व्यवसायीका लागि दशैं पर्व मानिने नाडा अटो शोमा यसपटक भने संकटमा परेको छ । नाडा अटो शो-२०२५ मा तीन ठूला कम्पनीले मात्र स्टल बुकिङ गरेका छन् । 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा ) बाट  नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा) संस्था खडा भएपछि नाडा अटो शो संकटमा पुगेको हो । 

नाडाभित्र चरम राजनीति भएको, निषेधको परिपाटी र आयातकर्ताको विषय सुनुवाइ नै नभएको भन्दै रातारात नयाँ संस्था ‘नाइमा’ खोलिएको हो । 

नाडा र नाइमा दुवै संस्थाले यसअघि नै फरकफरक मितिमा अटो शो गर्ने घोषणा गरिसकेका छन् । नाडाले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटो शो तथा नाइमाले साउन २१ गतेदेखि २५ गतेसम्म मोबिलिटी शो गर्ने घोषणा गरिसकेका छन् ।

यसैगरी, नाडाले स्टल बुकिङका लागि गत फागुन २७ गतेदेखि चैत ४ गतेसम्म दर्ता खुला गरेको थियो । जसमा चारपाङ्ग्रे गाडीहरुमा तीनवटा ठूला कम्पनीले मात्रै स्टल बुकिङ गराएका छन् भने दुई पाङ्ग्रेतर्फ दुईवटा कम्पनीले बुकिङ गराएका छन् । 

नाडाका एक सदस्यले भर्खरै पोखरामा वाडा शो सम्पन्न गरेको बताउँदै वाडा शोले राम्रै संकेत गरेको दाबी गरे । उनले भने, ‘भर्खरै पोखरामा वाडा शो खोल्यौँ । राम्रै भएको छ । धेरैले बुकिङ पनि गराएका छन् ।’ 

नाडा अटो शोका लागि तयारीमा जुटिरहेको उनको भनाइ छ । 

उनले भने, ‘तीन ठुला कम्पनीबाहेक अरू कसैले नाडा अटो शोका लागि हालसम्म बुकिङ गराएका छैनन् । गाह्रो छ, हेरौं के के हुन्छ । अहिले यो विषयमा दुवै संस्थाबीच छलफल चलिरहेको छ । बाँकी छलफलमा के-के निर्णय हुन्छ ।’ 

वाडा अटो शोमा नेपालका धेरै ब्राण्डहरू गएकाले नाडा अटो शोमा पनि ती ब्राण्ड देखिनेमा उनी विश्वस्त छन् । 

यसपटक नाडा अटो शो नहुने संकेत

नाडाको कुरा नाइमासँग मिलेन भने यसपालिको नाडा अटो नहुन सक्ने व्यवसायीहरू बताउँछन् । 

नाइमाका एक सदस्यका अनुसार यो नाडा सकिन लागेको संकेत हो । उनले हरेक वर्ष साउनमा खुलाउनुपर्ने बुकिङ फागुनमै खुलाएको आरोप लगाए । 

उनले, ‘स्टल बुकिङ खुलाउन धेरै हतार गर्यो । अब नाडाको ब्याण्ड बज्छ । उनीहरूसँग बजेट नै कम छ । स्टल बुकिङ खोलियो तर त्यसमा तीनवटा कम्पनी मात्रै सहभागी छन् । त्यसमा पनि धेरै ब्राण्ड छैनन् ।’

नाइमाले स्टल बुकिङ वैशाखतिर खुलाउने तयारी भइरहेको जानकारी दिएको छ । आफूहरूले कुनै हतार नगरेको र व्यवस्थित तरिकाले अघि बढिरहेको ती सदस्यको दाबी छ । 

नाइमाको मोबिलिटी शोमा ओमोडा एण्ड जेको, टोयोटा, किया, निसान, एमजी, सिट्रोन, हुन्डाई, फोर्ड, प्युजो, पा्रोटोन, जीडब्लुएम, बजाज,ट्राइफ, एथर, सुजुकी बाइक, हिरो, होण्डा, महेन्द्रालगायतका विभिन्न ब्राण्ड रहने जनाइएको छ ।

ती सदस्यले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तोमा स्टल दिने जानकारी दिए । साउन २१ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी शो प्रदर्शनीकर्ता र अवलोकनकर्ता धेरै हुने नाइमाको भनाइ छ । 

गाडीको मूल्य सस्तो हुने भ्रम

नाडा र नाइमाको प्रतिस्पर्धामा गाडीको मूल्य सस्तो हुने बजारमा हल्ला चलिरहेको छ । तर यो हल्लामात्र रहेको सम्बन्धित व्यवसायीहरू बताउँछन् ।

‘गाडीको मूल्य सस्तो हुने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन। दुवै संस्थाले अटो शो गर्दा गाडीको मूल्य घट्ने भन्ने हुँदैन,’ एक व्यवसायीले भने ।

उनले अन्तिम अवस्थामा नाइमा र नाडाबीच सहमति हुनसक्ने पनि संकेत गरे । सानो देशमा दुइटा अटो शोको आवश्यक नरहेको उनको बुझाइ छ ।

चौधरी र वैद्यबीच प्रतिष्ठाको लडाइँ

हाल नाडाका अध्यक्ष रहेका करणकुमार चौधरी र नाइमाको तदर्थ समिति संयोजक रितुसिंह वैद्य नेतृत्वको दुवै संस्थाले आफ्नो प्रतिष्ठाको लडाइँ गरिरहेको बुझिन्छ । 

सवारीसाधन आयातकर्ताको हक र हितमा काम गर्न विसं २०३२ सालमा छाता संगठनको रूपमा नाडाको स्थापना भएको थियो । संस्थाले सवारीसाधनको बिक्री-वितरणलाई सहज बनाउने उद्देश्य अनुरूप २०५५ बाट नै नाडा अटो सो आयोजना गर्ने निर्णय गरेको थियो ।

Share News