बन्द होइन, डुब्न लागेको बीमालाई उठाउन खोजेको हो : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाउँदै लगिएको बताएका छन् । आजदेखि तानसेनको टुँडिखेलमा सञ्चालन भएको दोस्रो तानसेन महोत्सवलाई उद्घाटन गर्दै उनले स्वास्थ्य बीमाका लागि स्रोत सुनिश्चित गरी व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा सरकार लागेको बताए ।

मन्त्री पौडेलले भने, ‘केही व्यक्तिहरूले मलाई भन्ने गर्नुभएको छ, तपाईँले त बीमा बन्द गर्न लाग्नुभयो रे, यो बीमा चल्दैन भन्नुभयो रे, मैले भनेको यसरी चल्दैन, मैले डुब्न लागेको बीमालाई उठाउन खोजेको, अव्यवस्थित बीमालाई व्यवस्थित बनाउन खोजेको, अपूर्ण बीमालाई पूर्णतातिर लिएर जान खोजेको हो, कार्यान्वयन हुने गरी हुनसक्ने गरी हामीले दृष्टिकोणहरू ल्याएका छौँ, के के गर्यौँ भने बीमा सुरक्षित गर्न सकिन्छ, के के गरे बिमामा नियमित आम्दानी गर्न सकिन्छ ? भन्ने कुराको परिकल्पना गरेका छौँ ।’ 

आफू आम सर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभइ त्यसलाई सुरक्षित कसरी गराउनतर्फ लागेको उनले स्पष्ट पारे । 

मन्त्री पौडेलले भने, ‘वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर व्यवस्थित बनाउने योजनामा छ । बिरामीको उपचार सर्व सुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँ ।’

उपचार कसरी गर्ने भन्ने बारेमा केही उपलब्धिहरू भए पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको उनले बताए । मन्त्री पौडेलले बिरामी बढाउने नभइ बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्तर्गत काम गर्न जरुरी रहेको उल्लेख गरे । 

Share News