सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि सुरु, विजेतालाई २ लाख ५० हजार दिने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैठौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबार (चैत २५) देखि काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ ।

सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा छनोट भएका १६ जना प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रुपैयाँ रहेको छ । विजेताले ६० हजार, दोस्रो हुनेले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले जनही ११ हजार, भने पहिलो चरणमा पराजित हुनेले ६ हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछन् ।

प्रतियोगिताको नियमअनुसार शीर्ष वरीयताका खेलाडी नेपाल नम्बर एक भुवन नगरकोटीले १६ औं वरीयताका पशुपति शर्मासँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै, दोस्रो नम्बरका निरज तामाङले सूर्य प्रसाद शर्मासँग, तेस्रो वरीयताका दिनेश प्रजापतिले रमेश अधिकारीसँग, चौथो वरीयताका रवि खड्काले टंक बहादुर कार्कीको सामना गर्नेछन् ।

प्रतियोगिताको फाइनल ३६ होलको हुनेछ भने अन्य सबै खेल १८ होलको हुनेछन् । पहिलो चरण मंगलबार, क्वाटरफाइनल र सेमिफाइनल बुधबार, र फाइनल तथा तेस्रो स्थानको खेल बिहीबार हुनेछ ।

प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालका अध्यक्ष रविन्द्र मान श्रेष्ठले सूर्य नेपालको दीर्घकालीन साथप्रति आभार व्यक्त गर्दै भने, 'नेपालमा व्यावसायिक गल्फको प्रवर्द्धनमा सूर्य नेपालको योगदान अतुलनीय छ ।'

Share News