काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी निरज तामाङले फराकिलो अन्तरको जितमा क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति, धन बहादुर थापा, रवि खड्का, प्रदीप कुमार लामा, तोरण विक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाए ।
रोयल नेपाल गल्फ क्लबमा मंगलबार भएको खेलमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६ औं वरियताका पशुपति शर्मालाई ५/४ ले हराए । चार होल अगाडि जित निकालेका उनले अब क्वाटरफाइनलमा धन बहादुर थापालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् । आठौं वरियताका धन र नवौं वरियताका भुवन कुमार रोक्काबीच कडा प्रतिस्पर्धा चलेको थियो । १७ औं होलको समाप्ती सम्म दुवै बराबरीमा थिए । १८ औं होल जितेर धनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल नम्बर २ प्रो निरज तामाङले १५ औं वरियताका सूर्य प्रसाद शर्मालाई सहजै ५/४ ले हराए। चार होल अगाडि पहिलो चरणको खेल जितेका निरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन्। निरजले अब सातौं वरियताका रामे मगरसँग क्वाटरफाइनल खेल्नेछन् । रामेले १० औं वरियताका दीपक मगरलाई ४/३ को नतिजामा माथ दिए।
डिफेन्डिङ च्याम्पियन तेस्रो वरियताका दिनेश प्रजापतिले १४ औं वरियताका रमेश अधिकारीलाई ४/३ ले माथ दिए । उनले अब अनुभवी तोरण विक्रम शाहीसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछन् । ११औं वरियताका तोरणसँग छैटौं वरियताका जयराम श्रेष्ठ ३/२ ले पराजित हुन पुगे ।
यसैगरी चौथो वरियताका रवि खड्काले १३ औं वरियताका टंक बहादुर कार्कीलाई ३र२ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रविले अब १२औं वरियताका प्रदीप कुमार लामासँग खेल्नेछन् । प्रदीपले पाँचौ वरियताका सञ्जय लामा विरूद्ध २/१ को अप्रत्याशित नतिजा निकाले ।
सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । आज पहिलो चरणमा पराजित भएका आठ खेलाडीले नगद ६/६ हजार पाउनेछन् ।
भोलि क्वाटरफाइनल र सेमिफाइनल खेल १८र१८ होलको हुनेछ । फाइनल र तेस्रो स्थानको लागि बिहीबार प्रतिस्पर्धा हुनेछ । फाइनल भने ३६ होलको हुनेछ ।