अछाममा सिलिण्डर पड्किँदा २७ घर जले, साढे ७ करोडभन्दा बढीको क्षति

काठमाडौं । अछाममा सिलिण्डर पड्किँदा २७ घर जलेर नष्ट भएका छन् भने साढे ७ करोडभन्दा बढीको क्षति भएको छ । 

जिल्लाको बान्निगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा मंगलबार राति साढे ७ बजेको समयमा सिलिण्डर पड्किएको हो ।

पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा पुरै बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय, अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जय पार्कीका अनुसार आगलागीबाट २७ वटा पसल र घर जलेका छन् भने अनुमानित ७ करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । 

उनले भने, ‘गएराति साढे ७ बजेतिर ग्यास पड्किएर आगलागी भएको हो । हामीले आगलागी भएको ५ घण्टापछि मात्रै आगो नियन्त्रणमा लिन सक्यौं । यो ठाउँमा बाटो सानो भएकाले दमकल ल्याउन सकिएन ।’

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनको भनाइ छ । आगलागी भएको ठाउँमा ११ व्यापारीले व्यवसाय गर्दै आएका बताए ।

अहिले क्षतिको विवरण सङ्कलन गरिरहेको प्रहरीले जनाएको छ।

Share News