निकिताले दर्ता गरेको मुद्दा सर्वाेच्चका न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ ।

लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध लामेछानेको तर्फबाट निकिताले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

ढुंगानाको इजलासको पहिलो नम्बरमा पेशी परेको छ ।

गत चैत २२ गते उच्च अदालत बुटवलको तुलसीपुर इजलासले रुपन्देही जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासबाट आएको हो ।

यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । तर बुटवल इजलासले सो आदेश उल्ट्याउँदै थुनामा पठाउन निर्देशन दिएको थियो ।

उक्त आदेशसँग असहमति जनाउँदै निकिताले सर्वोच्च अदालतको ढोका ढकढक्याएकी हुन् ।
 

Share News