स्वरोजगार लघुवित्तको साधारण सभा वैशाख २९ गते, १३.५० प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वैशाख २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो ११:३० बजेबाट सुरु हुने लघुवित्तले जनाएको छ ।

संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस सेयर र त्यसबाट लाग्ने कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्नेछ ।

त्यस्तै, सभाबाट मर्जर तथा एक्विजिशनसम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्नेछ । जस अनुसार वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भई नाम कायम भएका सेयरधनीहरूलाई सभा सहभागी र लाभांश प्राप्त गर्ने छन् ।

Share News