उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताको मञ्चमा चयन, नेपालबाट एक्लै प्रतिनिधित्व

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल सन् २०२५ का लागि विश्व आर्थिक मञ्च अन्तर्गत विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् ।

स्वीजरल्याण्डको जेनेभाबाट घोषित सूचीअनुसार दक्षिण एशियाबाट छानिएका ११ जनामध्ये नेपालबाट डंगोल एक्लो प्रतिनिधित्व हुन् । यसअघि उनी ग्लोबल शेपर्स काठमाडौं हवकी सक्रिय सदस्य पनि रहिसकेकी छन् ।

विश्वका ५० भन्दा बढी देशका ११६ जना युवा नेताहरू सहभागी रहेको यस मञ्चमा उपप्रमुख डंगोल सरकार क्षेत्रको प्रतिनिधिका रूपमा चयन भएकी हुन् । समूहमा शिक्षा, कला–संस्कृति, खेलकुद, व्यवसाय, नागरिक समाज, मिडिया र सामाजिक उद्यमशीलता क्षेत्रका युवा नेताहरू समावेश छन् ।

विश्व आर्थिक मञ्चको आधिकारिक वेबसाइटमा डंगोलको बारेमा भनिएको छ, 'उहाँ युवालाई प्रेरित गर्ने, र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।'

चयनपछि प्रतिक्रिया दिँदै डंगोलले भनिन्, 'विश्वस्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो । यो अवसरले थप जिम्मेवारी बोध गराएको छ । अन्तर्राष्ट्रियस्तरका नेताहरूसँग सहकार्य गर्दै युवालाई नेतृत्वमा प्रेरित गर्ने कार्यमा लाग्नेछु ।'

विश्वव्यापी समस्या समाधानका लागि व्यवहारिक दृष्टिकोण र प्रविधिको प्रयोगमार्फत सकारात्मक परिवर्तन ल्याउने, नयाँ दृष्टिकोण तयार गर्ने उद्देश्यले यो नेतृत्व समूहको स्थापना गरिएको हो । सन् २००४ मा स्थापना भएको यो फोरममा हालसम्म १२० देशका १ हजार ४ सयभन्दा बढी सदस्यहरू सहभागी भइसकेका छन् ।  

Share News