काठमाडौं । फुटबलका विश्व चर्चित डिफेन्डर र ब्राजिलका लिजेन्ड खेलाडी रोबर्टो कार्लोस वैशाख ६ गते नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने पक्का भएको छ । एनएसएलले वैशाख ६ मा आयोजना गर्न लागेको रोमाञ्चक क्वालिफायर खेलमा कार्लोसको उपस्थिति तय भएपछि नेपाली खेलप्रेमीहरूमा विशेष उत्साह थपिएको छ ।
ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुने उक्त खेल गत सिजनको फाइनलको पुनरावृत्ति हुनेछ । ललितपुर उपाधि रक्षा गर्ने लक्ष्यमा मैदान उत्रनेछ भने धनगढी पहिलो उपाधिको खोजीमा हुनेछ ।
रोबर्टो कार्लोस आफ्नो तीव्र फ्रिकिक, अद्वितीय गतिशीलता र विश्वस्तरीय डिफेन्स क्षमताका कारण विश्व फुटबलमा उच्च सम्मानित छन् । उनले रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय टिमको तर्फबाट खेलेर फिफा विश्वकप, चार ला लिगा उपाधि र थुप्रै अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन् ।
कार्लोस वैशाख ५ गते नेपाल आउने छन् । सोही दिन उनले गाला डिनर, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
एनएसएलमा कार्लोसको उपस्थितिले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । एनएसएलको यो सिजन कार्लोसको आगमन, रोमाञ्चक खेलहरू र देशभरका शीर्ष खेलाडीहरूको सहभागितासहित अहिलेसम्मकै भव्य सिजन बन्ने अपेक्षा गरिएको छ ।
प्रशंसकहरूले खेल हेर्नको लागि खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् ।