होटल बसाइले आर्थिक संकटमा आन्दोलित शिक्षक, जति खर्च भए पनि काठमाडौं नछाड्ने

काठमाडौं । मुगुका नन्दबहादुर मल्ल शिक्षक हुन् । उनी काठमाडौं आएको १८ दिन बढी भयो । देशभरका शिक्षक काठमाडौंमा जम्मा भएजस्तै उनी पनि आन्दोलनको लागि काठमाडौं आएका हुन् । यहाँं आफन्तहरू  कोही छैनन् । भएकाहरू कहाँ बस्न पनि समस्या थियो । सबै कोठा लिएर बस्नेहरू विद्यार्थी छन् ।  कोठा लिएर पढ्न बसेका विद्यार्थीकहाँ बस्न जाँदा उनीहरूलाई थप समस्या हुने भन्दै उनी गएनन् । साथै आफन्तकोमा पनि बस्न उनलाई अप्ठेरो लाग्यो।

null

काठमाडौं पुगेदेखि नन्दबहादुर सुनधाराको एक होटलमा बसिरहेका छन् । होटलमा एक दिन बसेको एक हजार तिर्नुपर्छ । खानाको छुट्टै तीन सय तिर्नुपर्छ । खान र बस्नेमात्र होइन, दिउँसो खाजा, साँझ बिहान चिया, पानीसमेत किनेर खानुपर्दा अझ बढी खर्च लाग्छ । उनका अनुसार दैनिक २ हजार बढी खर्च हुने गरेको बताउँछन् । 

‘खर्च त निकै लाग्छ नि, गाउँजस्तो भएन,’ नन्दबहादुर भन्छन्, ‘यो खर्च भएकोमा दुःख छैन किनकि आफ्नै पेसाको सुरक्षाका लागि खर्च गरेका हौं ।’  उनी महिनौं दिन होटेलमा बसेर हजारौं खर्च भएपनि बस्नुपर्ने बाध्यता रहेको र यो बाध्यता सरकारले सिर्जना गरेको आरोप लगाउँछन् । 

मुगुबाट काठमाडौं पुग्न एक हप्ता लाग्छ । समयमात्र होइन, पैसा पनि उत्तिकै लाग्छ । बसमार्फत काठमाडौं आउन १५/१६ हजार रुपैयाँ लाग्छ भने जहाजमा आऊजाऊमात्र गर्न ५०-६० हजार बढी लाग्छ । उनी जति पैसा खर्च भएपनि माग पुरा नहुँदासम्म घर नफर्कने बताउँछन् । 

बाजुराको मालिका नमुना माविका प्रधानाध्यापक शोभराज तिमिल्सिना काठमाडौं आएको २ साता बढी भयो । उनको दैनिकी पनि अहिले नयाँ बानेश्वर, माइतीघर गर्दै बितिरहेको छ । दिनभरि सडक आन्दोलन गरी उनी पनि साँझ सुनधाराको होटलमा बास बस्न जान्छन् । काठमाडौं पुगेदेखि होटलमा बस्दै आएका उनी काठमाडौंमा बस्न र खान समस्या भइरहेको बताउँछन् । 

null

शोभराज पनि काठमाडौंमा जति खर्च भए पनि माग पूरा गरेरै छाड्ने अठोटमा छन् । नन्दबहादुर र शोभराज जस्ता थुप्रै शिक्षकहरू अहिले यसरी नै होटलमा बसिरहेका छन् । कतिपय शिक्षक आफन्तहरूसँग बसेपनि धेरै जसो होटलमा बसिरहेका छन् । उनीहरूले होटलमा बस्दा खाँदा पैसा निकै खर्च भइसकेको बताउँछन् । शिक्षकहरू कोही समूह बनाएर बसेका छन् भने कोही एक्लाएक्लै बसेका छन् ।

शिक्षकहरूले खर्च व्यवस्थापन कसरी गरिरहेका छन् ?

काठमाडौं उसै पनि महँगो ठाउँ हो । यहाँ प्रत्येक पाइला पाइलामा पैसा खर्च हुन्छ । सबै खर्चको व्यवस्थापन शिक्षक आफै गरिरहेका छन् । होटल र गेस्टहाउसमा बसेका शिक्षकहरूले आफ्नो खर्चको व्यवस्थापन आफै गरेका छन् । कतिपय शिक्षकले भने तीन महिना देखिको तलब पाउन नसकेको अवस्थामा होटेलमा बस्नुपर्दा आर्थिक व्यवस्थापन गर्न नसकेको बताउँछन् । 

कतिपय विद्यालयले विद्यालयका सबै शिक्षक कर्मचारीबाट पैसा उठाएर काठमाडौं पुगेका व्यक्तिलाई पैसा दिने गरेका छन् भने कतिपय शिक्षकहरूले आ–आफ्नो खल्तीबाट पैसा उठाएर खर्च गरिरहेको बताएका छन् । 

नेपालमा चार लाख बढी शिक्षकहरू छन् । उनीहरू मध्ये सबै जना काठमाडौंमा छैनन् । काठमाडौं सहभागी नभएका शिक्षकहरूले काठमाडौं आएका शिक्षकलाई पाँच सय देखि एक हजारसम्म प्रतिव्यक्ति रकम संकलन गरेका छन् । यो रकमले केही राहत भएपनि यो रकममात्र पर्याप्त नभएको उनीहरूको भनाइ छ। 

शिक्षक महासंघ मुगुका अध्यक्ष विष्णु माया भाम होटेलमा बस्ने शिक्षकहरूले व्यक्तिगत रूपमै खर्चको व्यवस्थापन गरिरहेको बताउँछिन् । 

साँझ बिहान घुमघाममा व्यस्त

दिनभर सडकमा नारा लगाउँदै सरकारलाई दबाब दिइरहेका शिक्षकहरू बिहान र साँझ भने घुम्नमा व्यस्त छन् । टाढा-टाढाबाट आन्दोलनको मौका पारेर आएका कतिपय शिक्षकलाई आन्दोलनसँगै आफन्त भेटघाट र घुमघाम गर्ने समय मिलेको छ। 

उनीहरू स्वयम्भू, पशुपति, वसन्तपुर लगायतका क्षेत्रमा गएर घुमघाम गर्छन् । काठमाडौं आउने मौका नपाएका कतिपय शिक्षकलाई भने यो  एउटा अवसर जस्तै बनेको छ । 

अहिले काठमाडौंका पर्यटकीय स्थलदेखि गल्ली गल्लीमा शिक्षकहरूलाई देख्न सकिन्छ । रुकुम-पश्चिमकी शिक्षिका देवीमाया बोहरा खाली समयमा घुम्ने, आफन्तहरू भेटघाट गर्ने गरेको बताउँछिन् । ‘कहिल्यै नदेखेको ठाउँ कहाँ कस्तो होला भन्दै कहिले घुम्न जान्छौं, कहिल्यै आन्दोलनकै योजना, छलफल गर्दै समय बित्छ,’ उनी भन्छिन्,‘ फुर्सदको समयमा जहाँ गएपनि आन्दोलनको समयमा हामी सडकमै प्रदर्शन गर्न व्यस्त हुन्छौं ।’

सुनधारामा शिक्षक चहलपहल

सुन्धारा क्षेत्र काठमाडौंको सबैभन्दा गेस्टहाउस होटल भएको क्षेत्र हो । यहाँ अन्य ठाउँभन्दा बस्न खान सहज र सस्तो पर्छ । काठमाडौंमा हुने हरेक प्रदर्शन, आन्दोलन वा अधिवेशन, महाधिवेशन हुँदा सबैभन्दा बढी  नागरिक यही क्षेत्रमा बस्छन् । 

आन्दोलन गर्ने ठाउँसम्म जान सहज पनि हुने र जुनसुकै ठाउँ जान यातायातका साधन पाउने क्षेत्र पनि यही हुँदा यो क्षेत्रमा मान्छेको चहलपहल र बसाइ बढी हुन्छ । 

अहिले होटल बसेका अधिकांश शिक्षक पनि यही क्षेत्रमा बसेका छन् । शिक्षकको बसाइ बाक्लिएपछि आम्दानी पनि बढेको व्यवसायीहरूको भनाइ छ । 

अघि पछि प्रायः खाली रहने यो क्षत्रका होटललाई अहिले भ्याइनभ्याइ छ । शिक्षकहरू समूह बनाएरै होटल जाँदा व्यवसायीहरूलाई सेवा दिनै हम्मे परेको छ । सुनधाराका होटल व्यवसायी प्रवीण कुँवरले सुनधाराका होटलमा शिक्षकहरू खचाखच भरिएको बताए । उनले खानाखानेदेखि बस्ने शिक्षकहरूको हुल हुँदा अहिले व्यवसाय राम्रो चलिरहेको बताए ।

घर नफर्किने अडान

१६ दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरू तत्काल घर फर्किने छाँटकाँट छैन । सरकारले माग पुरा गर्न तदारुकता नदेखाएको भन्दै उनीहरूले आन्दोलन झन् सशक्त बनाएका छन् । विद्यालय भर्ना अभियान प्रभावित पार्दै सबै सामुदायिक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेका शिक्षकहरू जिल्लामा रहेका सबै प्रधानाध्यापक शिक्षकलाई काठमाडौंमा आउन आह्वान गरेको छ ।

सरकारले भने शिक्षकहरूका जायज माग तत्काल पुरा गर्ने भन्दै शिक्षकहरूलाई घर फर्कन आग्रह गरिरहेको छ । शिक्षकका मागका विषयमा उपसमिति बनाइ छलफल भइरहेको भन्दै शिक्षामन्त्री विद्यादेवी भट्टराईले शिक्षकलाई आन्दोलन रोक्न आग्रह गरेकी छिन् । उनले भिडियो सन्देश नै जारी गरी शिक्षकलाई आन्दोलन फिर्ता गर्न भनेकी हुन् । 

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले समेत वैशाख १२ गते विशेष अधिवेशन बोलाएर विद्यालय शिक्षा विधेयक ऐन पारित गर्ने भनेको छ । तर यो विषयमा सभामुख देवराज घिमिरेले प्रतिक्रिया दिँदै यो अधिवेशनमा विद्यालय शिक्षा ऐन पारित गर्न असम्भव भएको बताएका छन् । उनले जेठमा बजेट ल्याउनु पर्ने भएकाले यो अधिवेशनमा बजेटका विषयमा बढी छलफल गर्नुपर्ने भन्दै शिक्षाको विषय प्राथमिकतामा नपर्ने बताएका छन् । शिक्षकहरूले भने माग पुरा नभए महिनौंसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Share News