२६ अंकले बढ्यो नेप्से, १० अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २६ अंकले बढेर २७२२ विन्दुमा पुगेको हो । बजार खुलेको केही समयमै परिसूचकमा हरियाली देखिएको थियो, जुन कारोबारको अन्त्यसम्म कायम रह्यो ।

आज कुल ३११ कम्पनीका सेयर किनबेच भएका छन् । जसमध्ये १८७ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने ५९ कम्पनीका सेयर घटेका छन् । बाँकी कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

बिहीबार कुल २ करोड ३७ लाख कित्ता सेयर कारोबार हुँदा कारोबार रकम १० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । 

आजको दिन सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनर कम्पनीको भएको छ । कम्पनीको एकै दिनमा १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।  

हिमालयन पावरपछिका उच्च कारोबार गर्ने कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर ६२ करोड, हाइड्रोइलेक्ट्रीसीटी इन्भेस्टमेन्ट ४९ करोड, न्यादी ग्रुप ३८ करोड र राधी विद्युत कम्पनी ३७ करोड रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको हो ।

आज व्यापारबाहेक सबै सूचक सकारात्मक देखिए । व्यापार समूहको सूचक ०.१५ प्रतिशतले घटेको हो । अन्य सबै समूहमा हरियाली देखिएको छ ।

लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशतले उकालो लाग्यो । बैंकिङ समूह १.१४ प्रतिशत, विकास बैंक १.३५ प्रतिशत, फाइनान्स ०.७२ प्रतिशत, होटल तथा पर्यटन ०.३९ प्रतिशत, हाइड्रोपावर १.१३ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०५ प्रतिशत, माइक्रोफाइनान्स ०.६३ प्रतिशत, निर्जीवन बीमा ०.९६ प्रतिशत र अन्य समूह ०.३७ प्रतिशतले बढेका छन् ।  

Share News