काडमाडौं । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स तथा वैदेशिक रोजगारसम्बन्धी नयाँ सिरिज (कार्यक्रम) विकासन्युजमा प्रसारण हुने भएको छ ।
यो कार्यक्रम वैदेशिक रोजगारीका अवसर र चुनौती उजागर गर्दै रेमिट्यान्सलाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने उपाय पहिल्याउने प्रयास हो ।
‘रेमिट्यान्सको संसार’ विकासन्युज डटकमको अफिसियल युट्युब च्यानल विकासन्युजमा बैशाख १९ गतेदेखि हरेक शुक्रबार बेलुकी ८ बजे प्रसारण हुनेछ ।
नेपालबाट लाखौँ श्रमिक विदेशिने गरेका छन् । यसले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको छ । त्यस्तै, यसका आफ्नै असर पनि छन् । शृङ्खलामा नेपालबाट बहुसङ्ख्यक श्रमिक जाने प्रमुख गन्तव्यको श्रम नीति, त्यहाँका कामदारको अवस्था, त्यहाँ नेपालीले पाउने पारिश्रमिक र सुविधा तथा श्रमिकले भोग्ने चुनौतीसम्बन्धी तथ्य र तथ्याङ्क प्रस्तुत गरिएको छ ।
रेमिट्यान्सले लाखौँ नेपालीको जीवनशैलीमा परिवर्तन ल्याएको छ । विदेशमा श्रम गरेर कमाएको आम्दानीले एकातिर परिवारका आवश्यकता र अर्कातिर देशको आर्थिक वृद्धिमा योगदान गरेको छ । तर पनि रेमिट्यान्सको प्रभाव आर्थिक पक्षमा मात्र सीमित छैन, यसले सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि असर पारिरहेको छ । रेमिट्यान्सको संसार कार्यक्रममा यिनै विषयमा केन्द्रित हुनेछ ।
सही सीप विकास, अवसरको सदुपयोग र परिश्रम नै श्रमबजारमा सफलताका आधार मानिन्छन् । रेमिट्यान्सको संसार कार्यक्रममा रेमिट्यान्सभित्रको सकारात्मक र नकारात्मक प्रभावबारे विश्लेषण गरिनेछ । प्रवासी नेपालीको योगदान अझ प्रभावकारी बनाउन, रेमिट्यान्सको सही सदुपयोग गर्न र भविष्य सुरक्षित बनाउने सवालमा कार्यक्रम केन्द्रित हुनेछ । साथै, बैदेशिक रोजगारीमा जाने सोचमा रहेका युवा पुस्तालाई गन्तव्य मुलक र नेपालको नीतिबारे महत्वपूर्ण जानकारी दिइनेछ ।
विशेष कारण शुरू मिति एक सातापछि सारिएकाे-सम्पादक