धनगढीमा अत्याधिक गर्मी, वायु तापक्रम ४० दशमलब आठ डिग्री सेल्सियस मापन

काठमाडौं । कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा केही दिनदेखि दैनिक तातो हावा (लु) चल्न थालेसँगै बढेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कैलाली अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ । 

कार्यालयका जलवायु विज्ञ सञ्जय साहले गर्मी बढ्दै जाँदा धनगढीको अधिकतम् तापक्रम आज यो वर्षकै सबैभन्दा बढी ४० दशमलब आठ डिग्री सेल्सियस मापन भएको जानकारी दिए । सोमबार धनगढीको अधिकतम् तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो । 

‘प्रि मनसुनले तातो हावासहितको हुरी चल्ने, असिनापानी पर्ने आफ्नो लक्षण देखाउँदा गर्मी पनि बढेको हो, अझैँ तापक्रम बढ्नसक्ने हुनसक्छ,’ उनले भने । 

मनसुन भित्रिन अझैँ डेढ महिनाको समय बाँकी छ । गर्मी बढेसँगै धनगढी क्षेत्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध भइरहने समस्या पनि बढेको छ । गर्मीसँगै कैलालीसहितका जिल्लामा आगलागिका घटना पनि बढ्न थालेका छन् ।  धनगढी निवासी सुभाश चौधरीले वैशाख महिनामै यति चर्को गर्मी महसुस पहिलो पटक भएको अनुभव सुनाए । 

उनले भने, ‘वैशाख महिनामै यति चर्को गर्मी छ, जेठ महिनाको गर्मीले तराईमा बस्न सकिँदैन जस्तो छ, जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको हुनसक्छ ।’

Share News