सेयर बजारमा दोहोरो अंकको गिरावट, राधी विद्युतको सर्वाधिक कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २६५५.८४ बिन्दुमा झरेको छ । 

आजको कारोबारमा ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

२८ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिए पनि २१७ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा सबैभन्दा बढी कारोबार राधी विद्युत कम्पनीको भएको छ, जसको कारोबार ५८ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ५१ करोड, न्यादी ग्रुपको ४१ करोड, सानिमा माइ हाइड्रोको ३५ करोड र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट कम्पनीको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बुधबारको सेयर कारोबारमा अधिकांश उपसूचकहरू रातो भएका छन् । सबैभन्दा धेरै घटेको विकास बैंक समूह हो, जसको सूचक २.०९ प्रतिशतले घट्यो । यसैगरी, अन्य अधिकांश समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् ।

बैंकिङ समूह १.२३ प्रतिशत, फाइनान्स १.१५ प्रतिशत, होटल तथा पर्यटन १.०१ प्रतिशत, हाइड्रोपावर १.७८ प्रतिशत, लगानी समूह १.७६ प्रतिशत, माइक्रोफाइनान्स १.०४ प्रतिशत, निर्जीवन बीमा ०.९७ प्रतिशत, अन्य समूह १.५० प्रतिशत र व्यापार समूह ०.३० प्रतिशतले घटेका छन् ।

जीवन बीमा समूह ०.४५ प्रतिशतले मात्रै घट्दा उत्पादनमूलक समूह भने १ अंकमुनिको वृद्धिसहित हरियो अवस्थामा रहेकाे नेप्सेले जनाएकाे छ ।

Share News