काठमाडौं । उद्योगमा दैनिक १२ घण्टा लोडसेडिङ हुन थालेको छ। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले उद्योगमा लोडसेडिङ अन्त्य गरिने बताएका थिए ।
तर गत चैत्र १५ गतेदेखि लोडसेडिङ बढ्न थालेको उद्योगीहरूले बताएका छन् । यसै सातादेखि लगातार उद्योगमा १२ घण्टा लोडसेडिङ भइरहेको उद्योगीहरू बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति राजेश अग्रवालले उद्योग क्षेत्र दर्दनाक अवस्थामा फर्केको भन्दै दुखेसो पोखे । उनले भने, ‘पछिल्लो केही दिनयता अलि कम भएको थियो तर अहिले पुरानै अवस्था आयो । अहिले बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्रै बिजुली आउँछ । बाँकी समयमा जेनेरेटर चलाउने गरेका छौं ।’
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले पनि फेरि उद्योगमा १२ घण्टा लोडसेडिङ भइरहेको बताए । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी पशुपति मुरारकाले पनि उद्योगीहरू पटकपटक लोडसेडिङको मारमा परिरहेको बताए ।
‘केही उद्योगमा २४ सै घण्टा विद्युत चाहिन्छ, यस्ता खालका उद्योगहरू झन् मारमा छन् । केही दिन लोडसेडिङ कम भए पनि हामी अहिले पूरानै अवस्थामा आयौं,’ उनले भने ।
मुरारकाले उद्योगहरूलाई राज्यले प्राथमिकतामा नराखेको भन्दै गुनासो गरे । यसअघि ‘नेपाल विद्युत आयातमा आत्मनिर्भर भयौ’ भन्ने जुन हल्ला फैलाइयो यो सबै गलत भएको समेत उनको भनाइ छ । उनले अहिले गर्मी बढेको बताउँदै विस्तारै उद्योगहरूमा उत्पादन बढ्ने आशा रहेको सुनाए । उद्योगी मुरारकाले उद्योगगहरू धराशायी भएका समेत दुखेसो पोखे ।
अपजस भारतलाई
पछिल्लो समय नेपाल सरकार र भारत सरकारबीच सकसपूर्ण सम्बन्ध रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दा भारतलाई लक्षित गर्दै नेपालमा एमालेविनाको सरकार र केपी ओली विनाको एमाले देख्न चाहानेको चलखेल धेरै भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीकै शैलीमा प्राधिकरणका अधिकारीहरुले लोडसेडिङ हुनुमा भारत जिम्मेवार रहेको बताए । विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका भारतले महशुल वृद्धि गरी प्रति युनिट १० रूपैयाँ माग गरेको र उक्त मूल्य प्राधिकरणले तिर्न नसकेको बताए । यसकै कारण उद्योगमा रातिको समयमा लोडसेडिङ भइरहेको जानकारी दिए ।