काठमाडौं । पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट ८ जना किशोरको उद्दार गरिएको छ ।
रक्सौलबाट मधेस प्रदेशका विभिन्न जिल्लाका ८ जना किशोरको उद्दार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो ।
राम्रो तलवको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत बन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो ।
भारतीय प्रहरीले गत मार्च २९ मा उक्त स्थानमा छापा मार्दा ८ जना किशोरसहित ५६८ जना व्यक्ति पक्राउ परेका थिए । उद्दार गरिएका किशोरहरूलाई रक्सौलस्थित दुईवटा निजी अपार्टमेन्टमा राखिएको थियो ।
वीनमेकर नामक नक्कली कम्पनीको नाममा उनीहरूलाई नेटवर्किङ व्यवसायको तालिम दिइँदै थियो। प्रारम्भिक अनुसन्धानबाट ती किशोरहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेको र प्रलोभनमा परी भारत पुगेको पुष्टि भएको हो ।
पक्राउ परेपछि उनीहरूलाई दिल्लीस्थित एक सुधार गृहमा राखिएको थियो ।
उनीहरूलाई किन इन्डिया संस्थाका प्रतिनिधि नवीन जोशी र राष्ट्रिय बाल अधिकार परिषद्, मधेस प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोको सक्रियतामा उद्दार गरिएको हो ।
बिहीबार ती किशोरहरूलाई सुरक्षित रूपमा नेपाल फर्काइ परिवारजनको जिम्मा लगाइएको छ । उनीहरूलाई झुटो आश्वासन दिएर योजनाबद्ध तरिकाले राखिएको किन इण्डियाका प्रतिनिधि जोशी बताए ।
कम्पनीका कर्मचारीहरूले चिनजानका साथीभाइलाई समेत राम्रो आम्दानी हुने भन्दै बोलाई त्यहाँ पुर्याउने काम गरिरहेको पाइएको छ ।
जोशीका अनुसार उक्त कार्यमा संलग्न गिरोहविरुद्ध थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।