सिमेन्टको २० र डण्डीको मूल्य ३० रुपैयाँ बढ्यो, उद्योगी भन्छन्- लोडसेडिङले लागत बढ्यो

काठमाडौं । सिमेन्टको मूल्य बढेको छ । यसअघि प्रतिबोराअधिकतम् ७५० रुपैयाँ रहेको सिमेन्टको मूल्य अहिले ७७० बढी रुपैयाँ पुगेको हो । निर्माण व्यवसायीहरुले पनि सिमेन्टको मूल्य बढेको गुनासो गरेका छन् ।
 
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार बजारमा सिमेन्टको मूल्य बढेको छ । उद्योगीहरुले उत्पादन बढाएर लागत घटाउनु पर्नेमा उत्पादन कटौती गरेर सिमेन्टको मूल्य बढाएको उनको भनाइ छ । 

उनका अनुसार उद्योगीले सिमेन्ट र डन्डीमा कार्टेलिङ गरी बजारमा मूल्य बढाएका हुन् ।  ‘उत्पादन कटौती गरेर लागत घटाउने काम उद्योगीले गरेका छन्, पहिला ७ सय ५० रुपैयाँमा किन्न सकिने ओपीसी सिमेन्टको मूल्य बढाएर ७ सय ७० रुपैयाँसम्म पुर्याएका छन्, डण्डीको मूल्य ८७ रुपैयाँबाट ९० रुपैयाँ पुगेको छ,’ उनले भने ।

यसअघि पनि उद्योगीले निर्माण सामग्रीको मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छलफल गरेर घटाउन लगाएको थियो । तर, अहिले फेरि मूल्य बढाएका हुन् ।

उसो त विभागले बैशाख १ गतेदेखि सिमेन्टको हकमा पहिलो फ्याक्ट्री गेट प्राइस (एफजीपी) अर्थात् कारखाना मूल्य तथा दोस्रो, ढुवानी र अन्य खर्च जोडेर डिलरहरूले तय गर्ने अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य लागू गराएको छ ।   

सिमेन्ट उद्योगीहरुले सिमेन्टको फ्याक्ट्री मूल्य एक भएपनि गन्तव्यसम्म पुग्दासम्म त्यसमा ढुवानी खर्च जोडिँदा एमआरपी उल्लेख नगरिएको बताएका थिए । तर, विभागले जसरी पनि प्याकेजिङ गरिएका वस्तुहरुमा लेबल अनिवार्य हुनुपर्ने अडान राखेको थियो । एमआरपी तोकिदिँदा उद्योगीहरुले बिकट ठाउँसम्म पुग्नका लागि आवश्यक ढुवानी खर्चसहित जोडेर राख्नुपर्ने हुँदा उपभोक्तालाई झन मार पर्ने देखिएपछि उद्योगीहरुले एमआरपीभन्दा एफजीपीमा सहमति गरेका थिए ।

सिमेन्ट उद्योगीहरुले पनि सिमेन्टको मूल्य घटाउन नसकिएको बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारुले विभिन्न कारणले सिमेन्टको भाउ घटाउन नसकिएको जानकारी दिए । 

उनले भने, ‘हामीले सिमेन्टको मूल्य त्यति धेरै त बढाएका छैनौं । मूल्य पुरानै हो । फेरी उद्योगहरुमा लोडसेडिङ पहिलाकै अवस्थामा आएको छ । उद्योगमा बत्ती छैन् ।’

यसैगरी ह्वासिन सिमेन्टका प्रबन्ध निर्देशक विनोद न्यौपाने सिमेन्टको मूल्य स्थिर रहेको बताउँछन् । उनका अनुसार ह्वासिन सिमेन्टको मूल्य ७ सय १५ रहेको छ । उनले फ्याक्ट्रीमा ७ सय १५ रुपैयाँ रहेको बताउँदै बोरामा भने २० रुपैयाँले उपभोक्ताको मागअनुसार बढाएको जानकारी दिए । 

उनले भने, ‘हामीले ह्वासिन बागमती र गण्डकीमा मात्रै बेच्ने गरेका छौं । अरु ठाउँमा छैन् । ठाउँअनुसार मूल्य फरक–फरक हुन्छ । त्यसैले बोरामा २० रुपैयाँ बढाएका हौं ।’

नेपाल सिमेन्ट उत्पादक संघका पूर्वमहासचिव केशव उप्रेती उद्योगहरुमा लोडसेडिङका कारण सिमेन्टको मूल्य बढेको दाबी गर्छन् । उनका अनुसार ४÷५ दिनयता उद्योगहरुमा बिजुली नहँुदा उद्योगहरुको अवस्था भद्रगोल छ । उनले भने,‘ अहिले उद्योगहरुमा लाइट छैन् । लाइट नहुँदा उद्योगहरुले ठुलो सास्ती खेप्नु परिरहेको छ । ’

विद्युत लोडसेडिङ हुनुमा सरकारले नै सेटिङ गरिरहेको आरोप उनको छ । 

कुन सिमेन्टको मूल्य कति ?

विभागले वैशाख १ गतेभित्र सबै सिमेन्ट उद्योगीलाई सिमेन्टमा फ्याक्ट्री गेट प्राइस राख्न निर्देशन दिइएको थियो । त्यही निर्देशनअनुसार उद्योगीहरूले बोरामै फ्याक्ट्री गेट प्राइस राख्न थालिसकेका छन् । त्यही मूल्यमा थप नाफा जोडी अधिकतम खुद्रा मूल्य एमआरपी राखेर व्यवसायीले बिक्री गर्न पाउने विभागको भनाइ छ । 

बजारमा हाल सिमेन्ट उद्योगले उत्पादन मूल्य (फ्याक्ट्री गेट प्राइस) तथा डण्डीमा एमआरपी मूल्य राख्न थालेका विभागका सूचना अधिकारी जगदिश अर्यालले जानकारी दिए । 

उनले भने, ‘अहिले हामीले बजार अनुगमनलाई तीब्रता दिइरहेका छौं । विभागले अनुगमनमा छुट्टै टोली खटाएको छ । सिमेन्टको मूल्य तोक्ने अधिकार हामीलाई छैन । हाम्रो त एमआरपी मूल्य लागु छकि छैन भनेर चेक मात्रै गर्ने काम हो । ’

विभागका अनुसार उद्योगले ओपीसी सिमेन्टको फ्याक्ट्री गेट प्राइस प्रतिबोरा ६७५ रुपैयाँदेखि ७७१ रुपैयाँसम्म तोकेका छन् । जसमा शिवम् सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७७१ रुपैयाँ, सर्वोत्तम सिमेन्ट उद्योगको ओपीसी सिमेन्ट प्रतिबोरा ६७५ रुपैयाँ, जगदम्बा सिमेन्ट उद्योगले ओपीसी ६ सय रुपैयाँ छ ।

यस्तै, शालिमार गोल्ड सिमेन्ट उद्योगको ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७०० रुपैयाँ, ह्वाङ्सी सिमेन्ट उद्योगले ओपीसी प्रतिबोरा ७१५ रुपैयाँ, रिद्धिसिद्धिले ओपीसी प्रतिबोरा ७१५ रुपैयाँ, ह्वाङ्सी सिमेन्ट उद्योगले पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६४५ रुपैयाँ तोकेको छ । 

के भन्छ– उपभोक्ताहित संरक्षण मञ्च

नेपालमा उद्योगीहरुले लुटतन्त्र मच्चाइरहेको आरोप नेपाल उपभोक्ताहित संरक्षण मञ्चका महासचिव विष्णु घिमिरेको छ । उनका अनुसार ४ सय ५० रुपैयाँसम्म पर्ने सिमेन्टको मूल्य ७७० रुपैयाँसम्म पुर्याउनु दुःखद हो । उनले नेपालमा मनपरि चलिरहेको बताए । यो सबै कारण उद्योगी र सरकारको मिलोमतोमा भइरहेको उनको आरोप छ । 

उनले भने,‘ सिमेन्टको मूल्य ४ सय पनि पर्दैन । यहाँ सबै नाफाखोरी गर्न चाहन्छन् । उद्योगमा पर्याप्त सिमेन्ट छैन । व्यवसायीहरु  लोडसेडिङ भयो भनेर हल्ला फैलाइरहेका छन्, यसमा सरकारले गम्भिर भएर सोच्नुपर्छ । प्रत्येक उद्योगहरुलाई यत्ति उत्पादन गर्ने भनेर नियम बनाइनुपर्छ ।’

बजारमा उपभोक्ता तहसम्म आउने वस्तुहरुमा एमआरपी तोक्दैमा बजारको समस्या समाधान नहुने उनको तर्क छ । उनले कुनै वस्तुको लेबलिङ गर्ने र मूल्य तोक्ने बिषयले मात्रै बजारमा उपभोक्तालाई न्याय दिन नसक्ने बताए ।
 

Share News