सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी थालेको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले १२ लाख ५० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो ।

यस प्रयोजनका लागि सुप्रिम हेल्थ केयर लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धमा सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय, नक्सालमा आयोजित एक विशेष कार्यक्रममा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो ।

कार्यक्रममा सुप्रिम हेल्थ केयरका कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

विसं २०६६ सालमा स्थापना भएको सुप्रिम हेल्थ केयर लिमिटेड विगत ६ वर्षदेखि निरन्तर नाफा कमाउँदै आएको कम्पनी हो । बारा जिल्लाको परवानीपुरमा रजिष्टर्ड कार्यालय रहेको यस कम्पनीको सम्पर्क कार्यालय काठमाडौंको गहनापोखरीमा रहेको छ ।

Share News