हितेन्द्रसहित १५ जना कर्मचारी मिलेर श्वेतपत्र तयार, कुलमान हुँदा ४७ अर्ब नाफा, अहिले ५ अर्ब घाटा !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका दुई दर्जन कर्मचारी मिलेर स्वेतपत्र निर्माण गरेका छन् । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टीम मिलेर श्वेतपत्र तयार पारेको हो । 

एक महिनाअघि सरकारले कुलमान घिसिङलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले शाक्यलाई श्वेतपत्र जारी गर्न निर्देशन दिएअनुसार शाक्यले पनि श्वेतपत्र तयार पारेका हुन् । 

श्वेतपत्र निर्माण गर्ने समूहका एक कर्मचारीका अनुसार प्राधिकरण ५ अर्ब बढी नोक्सानमा देखिएको छ । यसअघिका कार्यकारी निर्देशकले प्राधिकरणलाई ठूलो नाफामा देखाएपनि शाक्यले भने घाटामा देखाएका हुन् ।

कुलमानले यसअघि प्राधिकरणको वित्तीय विवरण सार्वजनिक गर्दै ४७ अर्ब बढी सञ्चित नाफामा प्राधिकरण रहेको दाबी गरेका थिए । उनले चालु आर्थिक वर्षको ६ महिनामै ११ अर्ब बढी नाफा गर्न प्राधिकरण सफल भएको तथ्यांक गत फागुनमा सार्वजनिक गरेका थिए । तर, शाक्यले भने प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गर्न लागेका हुन् । 

ती कर्मचारीका अनुसार सोमबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले श्वेतपत्रलाई अनुमोदन गर्ने निर्णय पनि गरिसकेको छ भने अब छिट्टै नै सार्वजनिक गर्ने तयारी हुँदैछ । 

ऊर्जामन्त्री खड्काले घिसिङले हुँदै नभएको नाफालाई कागजी रूपमा अर्बौंको मुनाफा देखाएको आरोप लगाउँदै आएका थिए । स्रोतका अनुसार कुलमानले देखाएको सञ्चित नाफाबारे प्राधिकरणले महालेखा परीक्षकको कार्यालयसँग मौखिक सुझावसमेत लिएको थियो । तर, महालेखाका अधिकारीहरूले लेखा परीक्षण विवरणअनुसार श्वेतपत्र जारी गर्न सुझाव दिएको थियो । 

‘प्राधिकरण ५ अर्ब २६ करोड सञ्चित घाटामा देखिएको छ, सोमबार बसेको बैठकले मंगलबार सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, बिहानै उर्जामन्त्रीज्यूले आज सार्वजनिक नगर्नू भनेर फोन गरेपछि आजका लागि रोकिएको हो,’ प्राधिकरण स्रोतले भन्यो । 

मन्त्री खड्काको उक्त निर्देशनपछि श्वेतपत्र सार्वजनिक गर्ने काम तत्कालका लागि रोकिएको उनको भनाइ छ । 

प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारले श्वेतपत्रमा एक/दुई विषय छुटेकोले त्यसलाई समेटेर छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी रहेको सुनाए । 

‘बोर्डबाट सार्वजनिक नगर्नू भनेर निर्देशन आएको छ । त्यसैले आज सार्वजनिक गर्ने भनिएको पत्रकार सम्मेलन गर्न सकिएन,’ उनले भने । 

श्वेतपत्रमा घिसिङको कार्यकालमा देखाइएको नाफा, खर्चको वास्तविकता र प्राधिकरणको हालको आर्थिक अवस्था समेटिएको प्रवक्ता शिल्पकारको भनाइ छ ।

प्राधिकरण स्रोतका अनुसार अहिले ऊर्जामन्त्री खड्का र उर्जा सचिव सुरेश आचार्यको प्रत्यक्ष हस्तक्षेप प्राधिकरणको काम कारवाहीमा हुने गरेको छ । 

तत्कालनी कार्यकारी निर्देशक घिसिङले आफ्नो स्वार्थमा साथ नदिएपछि ऊर्जामन्त्री खड्काले उनलाई हटाएका थिए । शाक्यलाई पनि ऊर्जामन्त्रीले आफ्नै निर्देशनअनुसार  चलाउन खोजिरहेको स्रोतको दाबी छ । 

श्वेतपत्रमा के छन् शाक्यका योजना ? 
 

श्वेतपत्र मार्फत् शाक्यले विभिन्न योजनाहरू अघि सारेका छन् । तीन वर्षदेखि विद्युत् महसुल समायोजन नभएकाले समयानुकूल विद्युत् महसुल समायोजन गर्न आवश्यक पहल गर्ने, डेडिकेटेड तथा ट्रंकलाइन, सडक बत्ती र सरकारी कार्यालयको बक्यौता असुलीलाई पनि प्राथमिकता दिने,  ऊर्जा सुरक्षाका लागि ब्याट्री इनर्जी स्टोरेज सिस्टम र पम्प स्टोरेज प्लान्ट अघि बढाउने र बर्खामा उत्पादन भएको बिजुली खेर जान नदिन ब्याट्री इनर्जी सिस्टमका लागि ठूलो लगानीका लागि पहल गर्ने योजना अगाडि सारेका छन् । 

यस्तै, दुई वर्षभित्रै सम्पूर्ण जिल्लामा विद्युतीकरण गर्ने, अप्पर अरुण, दुधकोशी, सुनकोशी–३ र जावा तिला आयोजनालाई प्राथमिकता दिएर कार्यान्वयन गर्ने, उत्पादन, प्रसारण र वितरण प्रणाली विस्तारका लागि आगामी पाँच वर्षमा निर्माणाधीन आयोजनासहित करिब ६ खर्ब बजेट आवश्यक पर्ने भएकाले वैदेशिक स्रोतबाट ४ खर्ब र आन्तरिक स्रोतबाट दुई खर्ब जुटाउने योजना उल्लेख छ । 

Share News