‘सी स्ट्राइक्स’ महिला क्रिकेटमा सानिमा रिलायन्स विजयी, सूर्य नेपाल पराजित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स’ कर्पोरेट महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा सानिमाले सूर्य नेपाललाई २८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

मुलकोटस्थित एक रिसोर्टमा सम्पन्न फाइनल खेलमा, सानिमा रिलायन्सले पहिले ब्याटिङ गर्दै ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै ५ ओभरमा १ विकेट गुमाउँदै ३२ रन मात्र बनाउन सक्यो ।

सानिमा रिलायन्सको जितमा कप्तान स्वस्तिका कार्कीको विशेष भूमिका रह्यो । उनले फाइनल खेलमा प्लेयर अफ दि म्याच तथा सम्पूर्ण प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट बन्ने गौरव हासिल गरिन् । कार्कीले प्रतियोगिताभर तीन खेलमा प्लेयर अफ दि म्याच उपाधि जितेकी हुन् ।

रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दि म्याच पुरस्कार हात पारिन् भने सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको रुपमा पनि स्वस्तिका कार्की नै घोषित भइन् ।

एन इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिता वैशाख १२ र १३ गते सञ्चालन भएको थियो । प्रतियोगितामा कुल ९ टिम सहभागी थिए र प्रत्येक पारी ५ ओभरको खेलाइएको थियो ।

Share News