नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेमश चौधरी पक्राउ, यस्तो छ कारण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनी काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलबाट पक्राउ भएका हुन् । 

बुधबार जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । सोही कार्यक्रममा चौधरी पक्राउ परेका हुन् ।

नाउपाका सांसद अरुण चौधरीले रेशम चौधरी पक्राउ परेको जानकारी विकासन्युजलाई दिए । उनले रेशम पक्राउ पर्नुको कारणबारे पार्टीका नेताहरूलाई जानकारी नभएको बताए ।

रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार लगिएको छ । 

टीकापुर घटनाका मुख्य अभियुक्तका रूपमा कैद सजाय पाएका उनी राष्ट्रपतिको आममाफी पाएर कैदमुक्त भएका थिए ।

तर चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । सो रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेको बुझिएको छ । 

एकता कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ ।

Share News