काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६२३ बिन्दुमा झरेको हो ।
आज ३१४ कम्पनीको २ करोड ४६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बजारमा १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको घटेको छ । एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
बुधबार सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको सेयरमा मात्रै ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।
त्यस्तै, न्यादी ग्रुपको ५२ करोड, सानीमा माइ हाइड्रोको ५० करोड, अरुण भ्याली हाइड्रोको ४२ करोड, र हिमालयन पावरको ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, र क्रेस्ट माइक्रो लाइफका सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
आज अधिकांश सूचक ओरालो लागेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ र अन्य १.१६ प्रतिशतले घटेका छन् ।
साथै, हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, र व्यापार समूह ०.४० प्रतिशतले उकालो लागेका छन् ।