आकाशलाई वरिष्ठ उपाध्यक्षबाट हटाएर सदस्यमा झारियो, नाडाको स्वतः अध्यक्ष बन्ने ‘च्याप्टर क्लोज’

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)मा वरिष्ठ उपाध्यक्ष पदमा रहेका आकाश गोल्छालाई पदबाट हटाइएको छ । नाडाको चुनावपछि आन्तरिक सहमतिमा गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाइए पनि अहिले नाडाभित्रका पदाधिकारीहरूबीच विवाद बढ्दा उनको सो पद खोसिएको हो । उनलाई वरिष्ठ उपाध्यक्षबाट हटाएर कार्यसमिति सदस्यमा थन्क्याइएको छ । 

२०८० को मंसिरमा भएको नाडाको ४७ औं साधारण सभाले नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको थियो । त्यतिबेला अध्यक्षका लागि करण चौधरी र गोल्छाको चर्चा थियो । तर, नाडाकै नेताहरू तथा पूर्व अध्यक्षहरूले यस पटक चौधरीलाई अध्यक्ष बनाउने र गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाएर अर्को पटकका लागि स्वतः अध्यक्ष बनाउने भन्ने सहमति भएको थियो । 

गोल्छाले पनि अध्यक्ष बन्ने चाहना त्यागेर अर्को पटक अध्यक्ष बन्ने गरी वरिष्ठ उपाध्यक्षमा बस्न राजी भएका थिए ।  सबैकाे सहमतिमा साधारणसभामा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षको पद सिर्जना गर्ने प्रस्ताव पनि स्वीकृत भएको थियो । तर, जिल्ला प्रशासन कार्यालयले विधान संशोधन अस्वीकृत गरेपछि समस्या सिर्जना भएकाे हाे ।

जिल्ला प्रशासन कार्यालयले प्रक्रिया रोकेपछि वरिष्ठ उपाध्यक्षको पद पाइसकेका गोल्छाको आगामी कदम के हुन्छ भन्ने विषय धेरैका लागि चासोको विषय थियो । जिल्ला प्रशासन कार्यालयले विधान संशोधनकाे प्रस्ताव अस्वीकृत गरेपनि नाडाले भने उनलाई वरिष्ठ उपाध्यक्षको रूपमा स्वीकार गर्दै आएको थियो भने नाडाको वेबसाइटमा पनि उनको नाम कायमै थियो । 

किन निकालियो एक्कासि ?

वरिष्ठ उपाध्यक्ष गोल्छालाई पदबाट हटाएर सदस्यमा राखिएको छ । यसलाई धेरैले उनको ‘मोरल डाउन’ गरेको बुझेका छन् । तर, उनलाई पदबाट हटाउनु भित्रको कारण भने विधानमात्रै रहेन । 

यही बेला अटो व्यवसायीहरूको नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को जन्म भयो । सो संस्थाको स्थापनामा गोल्छाको भूमिका पनि ठूलो रह्यो । नाडाका केही पदाधिकारीले नाइमा जन्मिनुमा गोल्छाको भूमिका महत्त्वपूर्ण रहेको भन्दै कारवाही गरेको रूपमा पनि बुझेका छन् । 

उसो त नाडाले वरिष्ठ उपाध्यक्ष गोल्छालाई सदस्यमा झारेको छ भने यसअघि सदस्यका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका निशान ढकाल र अभीक ज्योतिलाई आमन्त्रित सदस्य बनाएको छ । 

नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापाले जिल्ला प्रशासन कार्यालयले वरिष्ठ उपाध्यक्षको पदलाई स्वीकृत नगर्दा पुरानै विधान अनुसार काम गर्नुपर्ने भएकोले उनलाई हटाएर सदस्यमा राखिएको जानकारी दिए । उनका अनुसार कार्यसमिति सदस्य पनि नयाँ विधानमा दुई जना थप गरिएको थियो । प्रशासन कार्यालयले नयाँ विधानलाई स्वीकृत नगरेकै अनुसार यसअघि बनेका दुई सदस्य ढकाल र ज्योतिलाई आमन्त्रित सदस्य बनाउनु परेको उनको धारणा छ । 

‘नयाँ विधानअनुसार नाडाले वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई चयन गरेको थियो, दुई जना सदस्य थप गरिएको थियो, नाडाको साधारणसभाले पास गरेको यो विधानलाई संशोधन गर्दा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएन, सोही कारण ती पदहरू हटाउन बाध्य भयौं,’ उनले भने । 

सदस्यबाट हटाएर आमन्त्रित सदस्य बनेका निशान नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् भने अभीक रुप ज्योतिका छोरा हुन् । 

थापाले आफूहरूको लापरवाहीका कारण कागजात समयमै पेस गर्न नसक्दा यस्तो समस्या आएको बताए । 

यस विषयमा गोल्छाले आफूलाई भने जानकारी नभएको धारणा राखे । ‘मलाई आधिकारिक जानकारी छैन, अब पत्र आएपछि त्यसको जवाफ दिन्छु, वरिष्ठ उपाध्यक्षलाई कुन कारण र आधारमा सदस्यमा झारियो ? उनले प्रश्न गर्दै भने, ‘यसरी आफ्नो मनोमानी गर्न मिल्छ ?’

उनले आफूलाई साधारणसभाले नै वरिष्ठ उपाध्यक्षमा चयन गरेको बताउँदै कुनै व्यक्तिलाई हटाउने अधिकार नभएको धारणा राखे । ‘मलाई वरिष्ठ उपाध्यक्षबाट हटाउने विषयमा न कार्यसमितिमा छलफल भएको छ, न साधारणसभा आह्वान गरिएको छ, पदबाट हटाएको विषयमा मलाई जानकारी छैन,’ उनले भने । 

स्वतः अध्यक्ष बन्ने च्याप्टर क्लोज !

यसअघि वरिष्ठ उपाध्यक्ष बनाएर स्वतः अध्यक्ष बनाउने नाडाको सहमति अब खारेज भएको बुझाइ धेरैको छ । जिल्ला प्रशासन कार्यालयले विधान संशोधनको प्रस्तावलाई अस्वीकृत गरेपछि अब वरिष्ठ अध्यक्ष बनेर अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने गोल्छाको योजना तुहिएको छ ।

नाडामा पनि अब यो सम्भावना लगभग अन्त्य भएको धारणा धेरैको छ । वरिष्ठ उपाध्यक्ष रहने विषय विधानमै नरहेपछि यसअघिको सहमति तोडिन सक्ने नाडाका पदाधिकारीहरू बताउँछन् । 

पूर्वअध्यक्ष थापा भने पूर्वसहमति अनुसार नै अगाडि बढ्दा राम्रो हुने धारणा राख्छन् । ‘उहाँ अहिले वरिष्ठ उपाध्यक्ष भए पनि नभए पनि उहाँलाई अर्को कार्यकालका लागि अध्यक्ष बनाउने सहमति भइसकेको छ, यस विषयमा वर्तमान अध्यक्षले पनि सोच्नुपर्छ,’ थापाले भने । 

यसअघिको सहमतिअनुसार अघि बढ्यो भने गोल्छा नै अध्यक्ष बन्न सक्ने धारणा राख्दै उनले नभए अब चुनावको विकल्प नरहेको सुनाए ।

नाडाका एक पदाधिकारीले भने गाेल्छा नाइमामा सक्रिय बनिसकेकोले नाडामा भूमिका कम हुने जानकारी दिए । ‘एउटै प्रकृतिका दुइटै संस्थामा सक्रिय हुन मिल्दैन, उनलाई वरिष्ठ उपाध्यक्षबाट हटाउनुको एउटा कारण नाइमामा देखिएको सक्रियता पनि हो, अब उहाँको स्वतः अध्यक्ष बन्ने च्याप्टर क्लोज भइसक्यो,’ ती पदाधिकारीले भने । 

Share News