नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन दिँदैनौ, नेपाल एक चीन नीतिमा स्पष्ट छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने बताएका छन् । 

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनको खिलाफमा प्रयोग हुन नदिने स्पष्ट पारे. । 

उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, संस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे ।

सभापति देउवाले चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी संधै मजबुत रहेको बताए । 

पारस्परिक सहकार्य, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि नेपाल र चीनले सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो । दुई मुलुकबीच समानता, पारस्परिक हित, शान्तिपूर्ण सहअस्तित्व कायम रहेको बताउनु भयो । 

उनले भने, ‘मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, स‌ंस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । मलाई विश्वास छ, चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने नै छ । मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु ।’

सभापति देउवाले परापूर्वकालदेखि नै नेपाल र चीनबीचको मित्रताको सम्बन्ध अटल र अमर रहेको पनि बताए ।

Share News