बालमन्दिर जग्गा प्रकरण : रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालय बालमन्दिर जग्गा प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । 

सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पत्र पठाएको हो ।

उक्त पत्र आएसँगै सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने तयारी  जिल्ला सरकारी वकिलको कार्यालयले गरिरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)सहित दुई तहको सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निष्कर्ष निकालिसकेको फाइललाई महान्यायाधिवक्ताको कार्यालयले उल्ट्याउँदै प्रतिवादीहरूमाथि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो । 

बालमन्दिरकी तत्कालीन अध्यक्ष रितासिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

गत वर्ष वैशाखमा पनि बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको भन्दै सीआईबीमा जग्गा विवादमा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी परेको थियो । 

संगठनको जग्गा व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको हो । 

जाहेरीमा २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ ।

नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो ।

Share News