काठमाडौं । जब उनी खुट्टाको समस्या भएर अस्पतालको बेडमा पुगिन् । सेतो एप्रोन लगाएका नर्स र चिकित्सक देखिन् । एक पटक उपचार गर्न आउने डाक्टरभन्दा, बेलाबेला औषधी दिन आउने नर्सले उनलाई आकर्षण गर्यो । उनीहरूले बोलेको मीठो स्वर, गरेको केयरिङले १३ वर्षको बच्चाको मानसपटलमा नर्सको चित्र घुम्न थाल्यो । अनि लाग्यो, ‘अब मैले पनि बिरामीलाई यस्तै हेरविचार, माया गर्ने नर्स बन्नुपर्छ ।’
केही दिनको अस्पताल बसाइँले नर्स बन्ने सपना देख्नु कतिसम्मको जायज थियो, उनलाई थाह छैन । तर, त्यही सपनाले अहिले प्रजनन स्वास्थ्यलाई सशक्तीकरणसँग जोडेर महिला स्वास्थ्यको आवाज उठाउने चाहिँ बनायो । महिला गर्भवती हुँदा उसलाई चिकित्सकले मात्र पुग्दैन, उसका लागि मिडवाइफ हुनुपर्छ भन्दै नेपालमा आवाज उठाउने पहिलो महिला स्वास्थ्यकर्मी बन्न सफल भइन्- लक्ष्मी तामाङ ।
महिला तथा नवजात शिशुको स्याहारका लागि विकसित मुलुकमा मिडवाइफ पहिलो रोजाइमा पर्छन् । तर, नेपालमा अझै पनि यो विषय धेरैलाई जानकारी छैन । गर्भवती, प्रसूति र सुत्केरी महिलाहरूको सेवाका लागि मिडवाइफ अनिवार्य हुनुपर्छ भन्दै उनले आवाज उठाउन थालेको धेरै भयो । पटक–पटक नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग पनि उनले छलफल गरिन् । उनको लबिङपछि स्वास्थ्य मन्त्रालय पनि लचक बनेको छ । तर अझै लचक भए अनुरूप मिडवाइफको दरबन्दी राखिएको छैन । तर, पहिले भन्दा अहिले मिडवाइफको खोजी हुन थालेको लक्ष्मीको अनुभव छ ।
मिडवाइफको आवश्यकता र उनको भूमिकाका विषयमा जानकारी दिने उद्देश्यले लक्ष्मीले नेपालमा मिडवाइफ्री सोसाइटी स्थापना गरेकी छन् । अहिले यो संस्थाले यस्ता विषयमा सचेतना जगाउन विभिन्न कार्यक्रम गरिरहेको छ । संस्थाको दबाबपछि अहिले नेपालमा मिडवाइफ्री पढाइ पनि सुरु भएको छ । हरेक प्रसूति केन्द्रमा मिडवाइफको व्यवस्था हुनुपर्छ भन्दै उनले आवाज उठाएपछि नेपालमा मिडवाइफको पनि चर्चा हुन थालेको छ ।
कतिपय अस्पतालले मिडवाइफ राख्न सुरु गरिसकेका छन् भने यो विषयमा नेपालमा पढाइ पनि सुरु हुन थालेको छ । धेरैजसोलाई जानकारी नै नभएको विषय नेपालमा पनि हुनुपर्छ भन्दै आवाज उठाएर सरकारलाई दबाब दिनु सहज थिएन । धेरै लक्ष्मीहरूले यसका लागि निकै मिहिनेत गर्नुपर्यो ।
भोजपुरेली छोरी, मलेसियामा जन्म
लक्ष्मी तामाङको घर भोजपुर हो । उनका बुवा गोर्खाली ब्रिटिस लाहुरे थिए । बुवा लाहुरे हुँदा आमाले विदेशका धेरै देश घुम्ने अवसर पाइन् । त्यही शिलशिलामा लक्ष्मीको जन्म मलेसियामा भयो । उनी डेढ वर्षकी हुँदा आमा फर्केर नेपाल आइन् । त्यो बेला उनको परिवार भोजपुरबाट धरान झरिसकेको थियो ।
विदेश घुम्दा उनकी आमाले त्यहाँका महिला र त्यहाँको संस्कृति बुझ्ने मौका पाइन् । आफू नपढेको भएपनि छोरीलाई विदेशी महिलाजस्तै पढाउने उनको सोच थियो । त्यही सोचले लक्ष्मी र उनका भाइहरूलाई आमाले पढाइन् । लक्ष्मीको पढाइ राम्रो थियो । कक्षा १० सम्म उनले धरानमै पढिन् । त्यसपछि जुनसुकै ठाउँ परिवेश भएपनि महिलामाथि हेर्ने नजर गर्ने व्यवहार फरक हुन्थ्यो ।
महिला शारीरिक र सामाजिकमात्र होइन, प्रजनन स्वास्थ्यबाट पनि उत्तिकै पीडित छन् । धेरै जसो ठाउँमा अहिले पनि महिलाले प्रजनन स्वास्थ्यको सेवा राम्रोसँग पाउन सकेका छैनन् । त्यो बेलाको अवस्था अझ डर लाग्दो थियो महिलाहरूलाई यो विषयमा थाहा थिएन । अवस्था बिजोग थियो । उनकी आमाले पनि भोजपुरमा हुँदा यस्ता समस्या भोग्नुपर्यो ।
लक्ष्मीकी आमाको चाहना छोरी पढेर यस्ता समस्याको अन्त्य नै गरून् भन्ने थियो । जिन्दगी सोचेको जस्तो हुँदैन तर बनाउने प्रयास गर्नुपर्छ लक्ष्मीको जिन्दगीमा पनि एउटा यस्तो मोड आयो, जहाँ उनले चार वर्ष स्कुल ड्रपआउट हुनुपर्यो ।
चिट चोरेको आरोप
अहिले पनि एसईई भन्नेबित्तिकै विद्यार्थीमा डर हुन्छ । अन्य परीक्षाभन्दा यो परीक्षालाई बेग्लै रूपमा लिइन्छ । त्यो बेला झन फलामे ढोकाको रुपमा लिइन्थ्यो । १६/१७ वर्षका बालबालिका यो नामले त्यसै त्रसित हुन्थे । फेरि ग्रुपका ग्रुप व्यक्ति पालैपालो जाँच गर्न पुग्थे । धेरै जसो विद्यार्थी यो दृश्य देखेर लेख्न नसक्ने अवस्थामा पुग्थे । उनले एसएलसी दिँदा एउटा यस्तो घटना घट्यो जसले लक्ष्मीले चार वर्ष पढाइ छोड्नु पर्यो ।
एसएलसीको परीक्षा चलिरहेको थियो । केन्द्राध्यक्षको टोली कक्षाकोठामा आउँदै थियो । केन्द्राध्यक्षलाई देखेर चिट चोर्दै गरेका कुनै विद्यार्थीले चिटको पोको उनैको अगाडि फ्याँकिदियो । कसले हो उनलाई थाहा थिएन । तर, केन्द्राध्यक्षले उनलाई चिट चोरेको भन्दै उत्तरपुस्तिमाका रातो कलमले गोलो लगाइदिए ।
उनले आफूले चिट नल्याएको बिन्ती गरेपनि केन्द्राध्यक्षले सुनेनन् । उत्तर पुस्तिकामा गाेलो लगाइदिएपछि उनी परीक्षा नदिएर घर गइन् । त्यसपछिका विषयको परीक्षा पनि उनले दिइनन् । उनलाई त्यो पीर यति पर्यो कि त्यसपछि उनलाई पढ्न मनै लागेन । उनले स्कुल चटक्कै छोडिन् ।
‘मैले चिट नै लिएको थिइनँ, जब कि मैले नगरेको कामलाई गरिस् भन्दै केन्द्राध्यक्षले गोलो लगाइदिनु भयो,' त्यो क्षण सम्झदै उनी भन्छिन्, ‘चिट नचोर्दा पनि चोरको आरोप लगाइयो, त्यो रिसले पढाइ नै छोडें, जिन्दगी चार वर्ष पछाडि धकेलियो ।’
लक्ष्मीको नर्स बन्ने सोच, आमाको समाजमा महिलाले भोग्नुपरेका पीडा छोरीले पढेर हटाउँछे भन्ने विश्वास दुवै हरायो । उनले कलम होइन- हँसिया रोजिन् ।
नाम्लोले डाम पर्दा स्कुल याद आयो
जिन्दगी घाँस-दाउरा घर र बारीको काम गरी बित्दै थियो । भारी बोक्दा-बोक्दै जिन्दगी भरियाकै जस्तो थियो । जब एकदिन थाप्लोमा नाम्लोको गहिरो डाम बस्यो उनलाई पढाइको याद आयो । उनलाई फेरि पढ्नुपर्छ भन्ने लाग्यो । पढाइ छोडेको चार वर्षपछि फेरि एसएलसी दिइन् । त्यसपछि सुरु गरिएको पढाइले उनलाई पीएचडी पासमात्र बनाएन, महिलाको प्रजनन स्वास्थ्यका लागि काम गर्ने उत्प्रेरणा दियो ।
उनको नर्स बन्ने सपना पूरा भयो, आमाको छोरीप्रतिको विश्वास साकार भयो । ‘मलाई त्यो घटनापछि पढ्न मन लागेन, घरमै बसें, घाँस–दाउरा गर्दै दिनहरू बिताएँ,' उनी भन्छिन्, ‘भारी बोक्दाबोक्दै थाकेको थाप्लोभन्दा बरु किताब पढ्न बेस जस्तो लाग्यो अनि फेरि पढाइ सुरु गरेकी हुँ।’
लक्ष्मीको नर्स बन्ने सपना थियो । त्यो बेला उनी २१ वर्षकी भइसकेकी थिइन् । अहिले उनी समाजमा महिलाले भोगिरहेका शारीरिक, मानसिक र सामाजिक पीडाका विषयमा आवाज उठाउँछिन् । उनैको पहलमा नेपालमा मिडवाइफ उत्पादन हुन सुरु भयो । अहिले देशका दुइवटा संस्थामा पीसीएल लेभलको मिडवाइफ पढाइ सुरु भएको छ भने ६ वटा कलेजमा स्नातक तहको मिडआवइफ पढाइ सुरु भएको छ ।
के हो मिडवाइफ ?
आमाको गर्भावस्थादेखि सुत्केरी अवस्था, नवजात शिशुका विषयमा विशेष सीप भएका र शिक्षित भएका दक्ष प्रसूतिकर्मी हुन् मिडवाइफ । उनीहरूको भूमिका निकै ठूलो हुन्छ । प्रसूति रोग विशेषज्ञले जटिलता भएका केशहरूको हेरचाह गर्छन् भने बाँकी नर्मल केशहरूलाई मिडवाइफले हेर्छन् । सन् २०१६ देखि यो शिक्षा सुरु भएको हो । यो विषयमा पढाइ हुने संस्था १० वटा छन् ।
एसईई पासपछि यो पढाइ हुन्छ भने ब्याचलर्स स्टाफ नर्स पढेर तीन वर्षपछि अर्को तीन वर्ष पढ्ने ब्याचलरर्स कोर्ष पढाइ हुन थालेको हो । अहिले नेपालमा ब्याचलर्स पास गरेका मिडवाइफ १ सय १५ जना छन् भने नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका ९१ जना छन् । जसरी दन्त चिकित्सकले दाँतको मात्र उपचार गर्छन्, त्यसैगरी मिडवाइफको काम पनि प्रसूतिकै विषयमा सेवा दिनु हो । उनीहरू विशेष सीपयुक्त भएकाले नर्मल डेलिभरीमा उनीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।
स्वास्थ्यमै विद्यावारिधि
एसएलसी पास गरिसकेपछि लक्ष्मी धरानबाट विराटनगर सरिन् । विराटनगर नर्सिङ क्याम्पसबाट उनले नर्सिङ पास गरिन् । सानैदेखिको रहर भएर पनि होला उनको पढाइ राम्रो थियो । नर्सिङ पढिसकेपछि एक वर्ष त्यहाँको अस्पतालमा काम गरिन् । उनको पढाइ, सक्रियता देखेर कलेजका प्रिन्सिपल खुसी थिए ।
बेलाबेला समाजमा गएर राम्रो काम गर्न सक्ने भन्दै प्रेरणा दिन्थे । त्यहीबेला महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको ओरेक नेपालले प्रजनन स्वास्थ्यका विषयमा काम गर्ने कर्मचारी खोजेको थियो । प्रिन्सिपलले लक्ष्मीलाई काम गर्न आग्रह गरे । त्यसपछि उनले त्यतै काम गरिन् । त्यहाँ काम गर्दा प्रजनन स्वास्थ्यबारे तालिम दिनुपर्थ्यो । यही अवसरमा विभिन्न विकट जिल्ला जाने अवसर पाइन् । त्यहाँ जाँदा उनले त्यहाँका महिलाको पारिवारिक, सामाजिक, सांस्कृतिक र स्वास्थ्य अवस्था बुझ्ने अवसर पाइन् ।
लक्ष्मीले मानव बेचविखनमा परेका महिलाहरूलाई स्वास्थ्य परामर्श दिने काम पनि गर्थिन् । त्यो बेला मुम्बईमा बेचिएका १ सय २० उद्धार गरिएका महिलाहरूलाई ओरेकको पुनःस्थापना केन्द्रमा राखिएको थियो । उनीहरूको प्रजनन स्वास्थ्यका विषयमा पनि उनले जाँच गर्थिन् । यो काम गर्दै जाँदा उनलाई यौन दुर्व्यवहार हिंसामा परेका महिलाहरूको स्वास्थ्य जोखिम रहने भन्दै यो क्षेत्रमा काम गर्न मन लाग्यो ।
दुई वर्ष बढी ओरेकमा काम गरिसकेपछि लक्ष्मी थापाथलीमा रहेको परोपकारी प्रसूति गृहमा गएर काम गर्न थालिन् । तीन वर्ष थापाथलीमा काम गरिसकेपछि उनी फेरि अध्ययनतर्फ लागिन् । उनले ललितपुर नर्सिङ क्याम्पसबाट ब्याचलर्स नर्सिङ अध्ययन गरिन् । त्यो बेला काम गर्दै पढ्न पाइँदैनथ्यो । उनले दुई वर्ष काम छोडेर स्नातक गरिन् ।
त्यसपछि फेरि लक्ष्मीले केयर नेपालमा काम सुरु गरिन् । महोत्तरीमा गएर काम गर्दा उनले तराइ मधेशका महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाइन् । तराई पहाड, मधेस जहाँ पुग्यो उनलाई महिलाले भोगेका पीडाले नराम्ररी निमोठ्थ्यो । समाजमा गएर स्वास्थ्यको काम गर्दागर्दै उनलाई नर्सिङभन्दा जनस्वास्थ्यको विषयमा केही गर्नुपर्छ भन्ने लाग्यो ।
नर्स बनेर महिलाको स्वास्थ्य जाँच गर्दा ती महिलाहरूले भोग्नुपरेका दुःखका पहाड थिए । लक्ष्मीलाई अझ समुदायको स्वास्थ्यका विषयमा बुझ्न मन लाग्यो । यसका लागि उनले अष्ट्रेलियन सरकारको छात्रवृत्ति पाइन् । सन् २००४ मा उनी अष्ट्रेलिया अध्ययनका लागि गइन् । थेसिसको लागि फेरि उनी तराइ मधेशमा गइन् । उनले त्यहाँ गएर मातृ तथा नवजात शिशुको स्वास्थ्यका विषयमा तथ्यांक संकलन गरिन् । फेरि उता गएर थेसिस बुझाइन् ।
पढाइ सकेर लक्ष्मी सन् २००६ मा नेपाल फर्किन् । नेपाल फर्केको केही समयपछि उनले होप इन्टरनेशनल कलेजमा पढाउन सुरु गरिन् । त्यहाँ ब्याचलर्स पब्लिक हेल्थ र ब्याचलर्स नर्सिङ पढाइ हुन्थ्यो । नर्सिङ पढिरहेका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि ठाउँ थिएन ।
‘मलाई पनि केही गर्नुपर्छ भन्ने हुटहुटी भएको, यता विद्यार्थीहरूका लागि पनि ठाउँ चाहिएको,’ उनी भन्छिन्, ‘त्यसपछि साथीहरूसँग सल्लाह गरेर बर्थिङसेन्टर सञ्चालनमा ल्याउने योजना बन्यो ।’
लक्ष्मीलाई बर्थिङ सेन्टर सञ्चालन गर्ने इच्छा जागेपछि आफूजस्तै स्वास्थ्यका क्षेत्रमा केही गर्न चाहनेहरूसँग कुरा राखिन् । त्यो बेला अहिलेको जस्तो अवस्था थिएन । काठमाडौंमा पनि महिलाहरू नियमित जाँच गर्दैनथे । फाट्टफुट्ट परोपकारी प्रसूतिमा सुत्केरी हुन आए पनि नियमित चोकजाँच गर्ने चलन थिएन । यसकारण पनि चुनौती छ भन्ने उनलाई थाहा थियो । उनका कुरामा १५ जना साथीहरू तयार भए । कोही पाटन अस्पताल, कोही प्रसूति गृहमा काम गर्ने १५ जनाले जनही एक एक लाखका दरले पैसा जम्मा गरे । कुल १५ लाख रुपैयाँ जम्मा भयो ।
त्यही रकमले कलंकीको भाटभटेनीको विपरीतमा एउटा बर्थिङ सेन्टर सञ्चालन गरे । त्यसको नाम थियो ‘आधारभूत प्रसूति केन्द्र’ । त्यहाँ बर्थिङ सेन्टरसँगै परिवार नियोजन, पाठेघरको मुखको क्यान्सर, सुरक्षित गर्भपत सेवा देखि सबै जसो सेवा दिइन्थ्यो । बर्थिङ सेन्टर स्थापनापछि होप कलेजमा अध्ययन गर्ने विद्यार्थी प्रयोगात्मक शिक्षणका लागि त्यहाँ आउन थाले । बर्थिङ सेन्टर सञ्चालनमा ल्याउँदा विस्तारै महिलाहरू आउन थाले । एक दुई पटक जाँच गर्न आएपनि नियमित आउने महिलाको संख्या निकै कमी थियो ।
उनीहरूलाई सचेतना पुगिसकेको थिएन । महिलाहरू नियमित नआउँदा लक्ष्मीले सोध्न थालिन् । तपाईंहरू किन नियमित जाँचका लागि आउनुहुन्न ? उनीहरूको जवाफ हुनथ्यो, ‘कोही श्रीमानले आउन नदिने, कोही सासूले आउन नदिने ।’ उनलाई झन् अचम्म लाग्थ्यो । गर्भवती जस्तो अवस्थामा पनि नियमित जाँच गर्न नदिने कारण के रहेछ भन्ने उत्सुकता लाग्यो । आफूले सञ्चालन गरेको बर्थिङ सेन्टर राम्ररी चलाउन नसक्दा उनलाई लिडरसिपको अभाव खड्कियो । काम गर्दैजाँदा आफूमा कता कता नेतृत्वदायी क्षमता नभएको महसुस गरिन् ।
लक्ष्मीले कुनै व्यवसाय सुरु गर्नुभन्दा पहिले नेतृत्व कसरी गर्ने भन्नेबारे बुझ्न आवश्यक रहेको ठानिन् । उनी त्यो कामबाट विश्राम लिँदै फेरि पढाइलाई निरन्तरता दिने योजनामा पुगिन् । भन्छिन्, ‘मलाई यो विषयमा थप अध्ययन अनुसन्धान गर्न मन लाग्यो, त्यसैले यही विषय छनोट गरी म पीएचडीको तयारीमा लागें ।’
१५ लाखमा सञ्चालन गरिएको बर्थिङ सेन्टर राम्ररी नल्दा आर्थिक समस्या थपियो । कर्मचारीलाई तलब दिनदेखि घरभाडा तिर्न सकस हुन थाल्यो । केही समयमै बर्थिङ सेन्टर धरापमा पर्यो । त्यो बर्थिङ सेन्टरमा जम्मा ६ सय बच्चाहरू जन्मिए । आर्थिक समस्या भएपछि लक्ष्मीले फेरि जागिर खोज्न थालिन् । उनलाई चुनौती पनि होस्, पैसा पनि होस् त्यस्तो ठाउँमा काम गर्छु भन्ने इच्छा थियो । नभन्दै उनले जीआईजेडमा जागिर पाइन् ।
जनमुक्ति सेनाको शिविर चहार्दा
जीआईजेड शान्ति प्रक्रियाका लागि सहयोग भन्ने परियोजनामा लक्ष्मीले काम सुरु गरिन् । त्यो बेला भर्खरै शान्ति स्थापना भएको थियो । जनमुक्ति सेनाको शिविरमा स्वास्थ्यका विषयमा उनले उपचार गर्नेदेखि लिएर प्रशिक्षण दिने काम पनि गरिन् । त्यहाँ पनि उनले महिलाको अवस्था उस्तै पाइन् । माओवादीका ठूला शिविर सात र २८ सानो शिविरमा स्वास्थ्यसँग सम्बन्धित समस्याका विषयमा काम गरिन् ।
ग्रामीणस्तरदेखि शिविरका महिलाहरूको प्रजनन स्वास्थ्य, उनीहरूले भोगेका सामाजिक, मानसिक याैनहिंसालाई देख्दा लक्ष्मीलाई महिलाको प्रजनन स्वास्थ्यका विषयमा धेरै काम गर्न बाँकी रहेको लाग्थ्यो । त्यहाँ काम गरेपछि उनले सन् २०११ मा सिड्नी विश्वविद्यालयमा यौन तथा प्रजनन स्वास्थ्यमा लैंगिक शक्तिको प्रभाव कस्तो छ भन्ने विषयमा पीएचडी गरिन् । पीएचडी गरेर नेपाल आएपछि लागिन् मिडवाइफको अभियानमा ।
त्यसपछि जन्मियो मिडवाइफ
विभिन्न स्वास्थ्य संस्था, संघसंस्थामा काम गर्दा लक्ष्मीलाई मिडवाइफको विषयमा केही त थाहा थियो । विभिन्न देशमा भएका स्वास्थ्य सम्मेलनमा जाँदा उनलाई थप यो विषयमा जानकारी भएको थियो । नेपालमा विभिन्न संस्थामा काम गरिरहँदा पनि उनको मनको एउटा कुनामा अब नेपालमा मिडवाइफफ्री अभियान चलाउनुपर्छ भन्ने थियो ।
‘कुनै पनि कुरा आँट गरेर मिहिनेत गरेर लाग्यो भने सम्भव छ, असम्भव केही छैन,’ उनले भनिन् । यही बीचमा उनलाई एउटा कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । सन् २००९ मा भारतको हैदरावादमा मिडवाइफ सम्बन्धी एउटा स्वास्थ्य सम्मेलन भएको थियो । उनी नेपालबाट सहभागी हुँदा उनले नेपालमा प्रसूति हुँदा भइरहेको प्रयास, मातृ मृत्युदर पनि बढिरहेको सशक्त जनशक्ति नभएको, दूरदराजका महिलाको अवस्था लगायतका विषय समेटेर उनले आफ्नो कार्यपत्र प्रस्तुत गरिन् ।
लक्ष्मीको प्रस्तुतिपछि नेपालमा मिडवाइफ छैन भन्ने प्रश्न गरे । उनले नभएको कुरा जानकारी गराएपछि अब तिमीले नै सुरु गर्न सक्छौ भने । दक्षिण एसियाका स्वास्थ्य क्षेत्रमा काम गर्ने महिलाहरूको सल्लाहपछि उनलाई पनि अब फर्केर नेपालमा केही गर्नुपर्छ भन्ने हुटहुटी चल्यो । भारतपछि स्वीडेनमा एक महिनाको लागि प्रजनन स्वास्थ्य सुदृढ गराउन मीडवाइफ्री दक्षता भन्ने सम्बन्धी तालिममा सहभागी हुने अवसर पाइन् । नेपालबाट उनी सहित ४ जना स्वास्थ्यकर्मी गएका थिए । त्यहाँ जाँदा उनलाई यो विषयमा झन् धेरै थाहा पायो ।
स्वीडेनमा ३ सय १३ वर्ष अगाडिदेखि नै मिडवाइफ रहेछ । संसदमा पनि धेरैजसो मिडवाइफ र नर्सहरू थिए । विश्वमा मातृ मृत्युदर रोकथामका लागि मिडवाइफको ठूलो भूमिका हुने र त्यहाँ उनीहरूकै ठूलो भूमिका देखिपछि लक्ष्मीलाई थप उत्सुकता थपियो । त्यसपछि उनी नेपाल फर्केर साथीहरूसँग छलफल गरेर संस्था दर्ता गर्ने तयारी भयो ।
लक्ष्मीले विभिन्न अस्पताल, कलेजमा काम गरिरहेका साथीहरूको सहयोगमा नेपालमा मिडवाइफ्री सोसाइटी अफ नेपाल भनेर दर्ता गरिन् । त्यो बेला कतिपय नर्सहरूले नै असहमति जनाए । मिडवाइफ आएपछि नर्सलाई असर पर्ने कुरा गरे । तर, विभिन्न चुनौती बावजुत २०१० मा संस्था दर्ता भयो । विश्व स्वास्थ्य संगठनले पनि सय जना महिलामा ८५ प्रतिशत सामान्य प्रसुति हुन्छ र १५ प्रतिशत जटिलतामा जानसक्छन् भनेको छ । यसको मतलब १५ प्रतिशतको लागि विशेषज्ञ चिकित्सक चाहिन्छ भने बाँकी ८५ प्रतिशतलाई मिडवाइफ चाहिन्छ भन्ने स्थापित तथ्य छ ।
यसले पनि प्रजनन स्वास्थ्यको ९० प्रतिशत सेवाहरू मिडवाइफले गर्छन् । नेपालमा पनि मिडवाइफको आवश्यकता निकै छ । यो विषयलाई ध्यानाकर्षण गराउँदै लक्ष्मीहरूले सरकारलाई दबाब दिए । नेपालमा पनि मिडवाइफ हुनुपर्छ, राज्यले उत्पादन गर्नुपर्छ भन्ने आवाज उठाउन सुरु गरियाे । नेपाल सरकारले एसबीए पोलिसी भनेर राष्ट्रिय सीपयुक्त प्रसूति सहयोगी नीति ल्याएको थियो । यो नीतिअनुसार सरकारले बर्थिङ सेन्टर खोल्ने मिडवाइफ उत्पादन गर्ने भनेको छ । सरकारले पनि केही बुझिसकेको र केही सिकाउनुपर्ने काम यो संस्थाले गर्यो । अहिले नेपालमा मिडवाइफको विषयमा जानकारी मात्र होइन पढाइ समेत सुरु भइसकेको छ ।
परिवर्तन भयो तर रूपान्तरण भएन
नेपालमा विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरिरहेकी लक्ष्मी हाल मिडवाइफको दक्षिणपूर्व एसियाको अन्तर्राष्ट्रिय महासंघको सदस्यका रूपमा काम गरिरहेकी छिन् । २९ वर्षदेखि विशेषगरी महिलाको प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गरिरहेकी लक्ष्मी अहिले प्रजनन स्वास्थ्यका विषयमा परिवर्तन भएको तर रूपान्तरण नभएको बताउँछिन् ।
‘परिवर्तन आफै हुन्छ, सुस्त गतिमा हुन्छ यो भइरहेको छ,’ उनी भन्छिन्, ‘रूपान्तरण गर्न मिहिनेत प्रयास बढी गर्नुपर्छ, यसो हुनसकेको छैन तर पहिलेको भन्दा केही परिवर्तन भने भएको छ ।’
सरकारले २०६३ सालमा एसबीए नीति ल्याएको थियो । त्यो नीतिमा तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रणनीति राखेको छ । तर, राज्यले तत्कालीन रणनीति पनि कार्यान्वयन गर्न सकेको छैन । यो नीतिले सुरक्षित मातृत्व सेवामा प्रमाणपत्र तहको व्याचलर मिडवाइफ उत्पादन गर्ने भनेको छ ।
‘तत्कालीन रणनीतिमा अल्झिरहेको राज्यलाई हामीले दिएको पटक-पटकको दबाबले पढाइ सुरु भयो । तर, पढेका मिडवाइफका लागि दरबन्दी अहिले पनि छैन, उनीहरू पढेर पनि काम नपाइरहेको अवस्था छ, मिडवाइफको दरबन्दी नखुलाउँदा यो सेवा नर्सहरूले दिनुपर्ने बाध्यता छ,’ उनले भनिन् ।
नर्सहरूले शरीरको १२ वटा प्रणालीमा तालिम लिएको हुन्छ । तर, दक्षता कुनैमा हुँदैन । मिडवाइफले प्रजननको विषयमा मात्र अध्ययन गरेको हुँदा प्रजननका विज्ञ नर्सभन्दा मिडवाइफ हुन्छन् । नर्मल सामान्य सुत्केरीका लागि मिडवाइफ विशेषज्ञ हुने भएकाले उनीहरूको जस्तो सेवा विशेषज्ञ चिकित्सक र नर्सले पनि दिन नसक्ने लक्ष्मीको दाबी छ ।
राज्यले मिडवाइफमा लगानी गरे नवजात शिशुको स्वास्थ्य, मातृ स्वास्थ्य र गर्भको स्वास्थ्यका विषयमा यसले ठूलो प्रभाव पार्ने उनी बताउँछिन् । १६ औं योजनाले अबको २० वर्षमा २० मा मातृ मृत्युदर झार्नुपर्ने भनेको छ । यसका लागि दूरदराजमा प्रमाणपत्र तहको मिडवाइफ जबसम्म परिचालन गरिँदैन, तबसम्म यो पुरा नहुने उनी बताउँछिन् ।
‘मैले लामो सयमदेखि यसमा आवाज उठाएँ, केही सुनुवाइ भएको छ केही छैन,’ लक्ष्मी भन्छिन्, ‘राज्यले नीति बनाउँछ, रणनीति बनाउँछ । तर, कार्यान्वयन गर्दैन, अहिले पनि नसुनिएका कुरा सुनाउन राज्यलाई दबाब दिने पैरवीको काम गरिरहेकी छु ।’