कुलमान र हितेन्द्र : दुई सहकर्मीको १७ वर्षे ‘हेड टु हेड’ प्रतिस्पर्धा

काठमाडौं । नेतृत्व र प्रभावको लडाइँ कहिलेकाहीँ संस्थागतभन्दा पनि व्यक्तिगत स्वभाव, सम्बन्ध र प्रतिस्पर्धाले निर्देशित गर्छ । नेपाल विद्युत् प्राधिकरणमा पछिल्लो डेढ दशकयता यस्तै एउटा असाधारण प्रतिस्पर्धाको कथा सिर्जना भएको छ । तपाईं हामीलाई थाहा भएकै कुरा हो, प्रतिस्पर्धा सहपाठी, सहयात्री र सहकर्मी सबैसँग हुन्छ । तर, यति धेरै लामो प्रतिस्पर्धा भने दुर्लभ नै हुन्छ । आज हामी तपाईंलाई त्यही दुर्लभ प्रतिस्पर्धाको विषय उल्लेख गर्दैछौं- कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यबीचको प्रतिस्पर्धा ।

यी दुई जनाबीचको प्रतिस्पर्धा एउटा बढुवादेखि सरकार नै धर्मराउने स्थितिसम्म पुग्यो । यो प्रतिस्पर्धा दुई जना इञ्जिनियरको मात्रै होइन, एक संस्थागत नेतृत्वको दौड मात्रै होइन, यो एक सहकर्मी र  सहप्रत्यासीबीचको विगत १७ वर्षदेखिको इगो र एकले अर्कालाई पछार्ने खेल पनि हो । 

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य दुवै नेपाल विद्युत् प्राधिकरणमा उच्च क्षमता भएका पावर सिस्टम इन्जिनियर हुन् । कुलमान २०५१ सालतिर प्राधिकरणमा सात तहको इन्जिनियरको रूपमा प्रवेश गरेका थिए । त्यतिबेला हितेन्द्र प्राधिकरणमै आठौ‌ं तहमा थिए । दुवै जनामा पृथक किसिमको जोश र जाँगर थियो । भारतमा बीएस्सी इलेक्ट्रिकल इन्जिनियर गरेर नेपाल फर्केका कुलमानसँग पढाइको घमण्ड थियो ।

त्यही समयमा उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे । २०६४ सालमा प्राधिकरणले १०औं तहमा बढुवाका लागि आन्तरिक प्रतिस्पर्धा गरायो । त्यो प्रतिस्पर्धामा कुलमान र हितेन्द्रले नाम निकाले । त्यहीबेलादेखि हो उनीहरूबीच प्रतिस्पर्धा हुन थालेको । त्यही बेलादेखि हरेक नियुक्ति, सरुवा, परियोजना जिम्मेवारी वा रणनीतिक अवसरमा यी दुई जनाको ‘हेड टु हेड’ भिडन्त जस्तै देखिँदै आएको छ ।

‘हाम्रो ग्रह-कुण्डली नै मिलेर आएको जस्तो छ,’ हितेन्द्रले हालैको एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘२०६४ सालदेखि हामीबीच प्रतिस्पर्धा चलिरहेको छ ।’

चिलिमेदेखि प्राधिकरणसम्म 

हितेन्द्र पहिलो पटक चिलिमे जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृत बने । पछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बनिन् राधा ज्ञवाली र प्राधिकरणको कार्यकारी निर्देशक थिए रामचन्द्र पाण्डे । त्यहीबेला हितेन्द्रलाई फिर्ता बोलाएर कुलमानलाई चिलिमेको जिम्मेवारी दिइयो । 

आफूले चिलिमेमा काम गरेको अनुभवकै कारण कुलमानले नेतृत्व गरेपछि आफूले बाहिरबाट सहयोग गरेको हितेन्द्रको दाबी छ । चिलिमेको पावर प्वाइन्टमा समस्या आउँदा आफूले ठूलो सहयोग गरेको उनले बताएका छन् ।

तर, कुलमानको जीवनमा भने चिलिमे टर्निङ प्वाइन्ट नै बन्यो । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रूपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरिदिए । सर्वसाधारणको नजरमा उनी परे । काम गर्न सक्छ भन्ने विश्वास कुलमानले त्यतिखेरै दिए । 

तर, विडम्बना कुलमानलाई त्यतिखेरै प्राधिकरणमा तानेर जिम्मेवारीविहीन बनाइयो । उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् । झण्डै २ वर्ष कार्यालय गएर हाजिर गर्ने र घर फर्कने उनको दैनिकी बन्यो । प्राधिकरणले फेरि चिलिमेमा हितेन्द्रलाई पठाएको थियो । 

त्यहीबीचमा ऊर्जामन्त्री बने जनार्दन शर्मा । उनले २०७३ सालमा कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाए । हितेन्द्र एमसीसीमा सरुवा भए । त्यतिखेर देशमा व्याप्त लोडसेडिङ थियो । १८ घण्टाको लोडसेडिङमा देश थियो । कुलमानले प्राधिकरणभित्र फेरि सक्रियता बढाउने मौका पाए । चार वर्षे कार्यकालमा कुलमानले लोडसेडिङ अन्त्य गरेर आफ्नो नाम जनताको मनमा राखे । 

हितेन्द्रको पुनरागमन

कुलमानको कार्यकाल सकिएपछि २०७७ साल कात्तिक ११ गते हितेन्द्र शाक्य प्राधिकरणको कार्यकारी निर्देशक बने । त्यतिबेला पनि प्रधानमन्त्री थिए केपी शर्मा ओली । कुलमानलाई दोहोर्याउनुको सट्टा हितेन्द्रलाई कार्यकारी निर्देशक बनाएको भन्दै चौतर्फी विवाद भयो । 

हितेन्द्र कार्यकारी निर्देशक बनेको तीन महिनापछि सरकार परिवर्तन भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र ऊर्जामन्त्री पम्फा भुसाल बनिन् । ऊर्जामन्त्री भुसालको आग्रहमा राजीनामा दिन नमानेपछि उनलाई पदमुक्त गरेर फेरि कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाइयो । 

तर हितेन्द्र चुप लागेनन् । सर्वोच्च अदालतमा रिट दायर गरे । मुद्दा १३ पटक पेसीमा चढ्यो तर दुईपटक मात्र सुनुवाइ भयो । अन्ततः उमेर हदका कारण उनी गत माघमा अनिवार्य अवकाशमा गए । 

फेरि फागुनमा पुनरागमन

२०७८ साउनमा हटाइएका शाक्यलाई पुनः २०८१ फागुनमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ । चार महिना कार्यकाल बाँकी हुँदा नै कुलमानलाई हटाएर हितेन्द्रको पुनरागमनले विद्युत् प्राधिकरणमा ‘ग्रह कुण्डली’को चक्र फेरिएको देखिएको छ ।

अहिले सरकारको आलोचना बढिरहेको छ । धेरैले कार्यकारी निर्देशक हितेन्द्रलाई तारो बनाइरहेका छन् । सामाजिक सञ्जालमा शाक्यलाई ‘ओलीको सालो’ भनेर आलोचना पनि भइरहेको छ । तर, उनले सालो भनेर गरिएको शब्दप्रति हाँस्दै टारेका छन् । 

हितेन्द्रले हालै सार्वजनिक गरेको श्वेतपत्रले प्राधिकरण ५ अर्ब २६ करोड घाटामा रहेको देखाउँदा थप आलोचना भएको छ, किनभने कुलमानले आफ्नो कार्यकालमा कुल ४७ अर्बको नाफा देखाएका थिए । 

व्यक्तिगत लडाइँ, संस्थागत द्वन्द्व

हितेन्द्र इलामका स्थायी बासिन्दा हुन्, उनी प्रसारणलाइन इन्जिनियरिङका विज्ञ मानिन्छन् । उनले एमसीसी अन्तर्गत निर्माण हुने प्रसारण लाइन योजनाको प्रारूप तयार गरेका थिए । कुलमान रामेछापका दुर्गम गाउँ बेथानमा जन्मिएका हुन् । उनी लोडसेडिङ अन्त्य गर्ने अभियानका कारण जनस्तरमा ‘नायक’को रुपमा स्थापित छन् ।

दुवै जनाको प्रतिस्पर्धा सधैं व्यक्तिगत नभएर राजनीतिक शक्ति सन्तुलनमा आधारित देखिन्छ । एमालेको सरकारमा हितेन्द्र, देउवा र प्रचण्डको सरकारमा कुलमान, फेरि ओलीको प्रभावमा हितेन्द्रको पुनरागमन यिनै चक्रमा उनीहरूको करियर घुमिरहेको छ ।

यी दुवै जनाबीच संवाद र सम्पर्क नभएको पनि खुलेको छ । केवल 'हाइ-हेलो’को सम्बन्ध मात्र बाँकी रहेको हितेन्द्र बताउँछन् । तर, यो प्रतिस्पर्धाको खेल भने अझै अन्त्य भएको छैन । सत्ता फेरियो भने फेरि कुण्डली पल्टिने सम्भावना कुलमानको पनि देखिन्छ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वको लडाइँ अब केवल पदको मात्रै हो कि नीति, योजनाको पनि हो भन्ने विषयमा भने उनीहरू पनि अनभिज्ञ छन् । 
 

Share News