आजदेखि भृकुटीमण्डपमा दशौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

काठमाडौं । दशौं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ बिहीबारदेखि भृकुटीमण्डपमा सुरु  भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलामा विभिन्न देशहरूहरुको सहभागी रहेको छ ।

व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा कृषि, ऊर्जा, भवन निर्माण, पर्यटन, सूचना प्रविधि, शिक्षा लगायतका विषयमा विशेष स्टलहरू राखिएको जानकारी दिए ।
 
उनले मेलाको अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूबीच द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धन सम्बन्धी छलफलहरू समेत गरिने जानकारी दिए ।  

यो मेलाबाट नेपाली सामग्रीको गुणस्तर र ब्रह्माण्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेल्ने उनको विश्वास छ।

उनले भृकुटीमण्डप व्यवस्थित नहुँदा मेलालाई भव्य र सभ्य रूपमा बनाउन नसकिरहेको दुखेसो पोखे ।

मेलामा ३५० वटा स्टलहरू रहेका छन् भने ती स्टलमा नेपालीका उत्पादन भएका सबैजसो वस्तु राखिएका छन् । उनका अनुसार मेलामा ग्राहकले रेडिमेटदेखि स्वदेशमै उत्पादन भएका वस्तुहरू सजिलै अवलोकन तथा खरिद गर्न सक्नेछन् । 

मेलामा नेपाली जमिनमा उत्पादन गरिएको चिया, अदुवा, अलैंची, कुचो, रुद्राक्ष टिम्मुरको अचार, भीर मौरीको महलगायत खाद्यपदार्थ राखिएकाे छ । 

मेलामा चीनबाट पावर ट्रान्समिशन इक्विपमेन्ट, इलेक्ट्रिकल्स, अटोमोबाइल्स, खाद्य तथा पेय पदार्थ, गार्मेन्ट्स, स्मार्टवाच लगायतका स्टलहरू रहनेछन् भने पाकिस्तान र बंगलादेशबाट लेदर तथा गार्मेन्ट्स सामग्रीहरू पनि प्रदर्शन छन् ।

मेलामा चीनका ४० कम्पनीले सहभागी जनाएका छन् । चिनियाँ विद्युतीय सवारीसाधनका पार्टपूर्जा, हस्तकला, वस्तुगत उत्पादन र विभिन्न प्रविधि सम्बन्धी सामग्रीहरूको प्रदर्शनी छन् ।

मेला आईएमई पेको मुख्य प्रायोजनमा आयोजना गरिएको हो । यसैगरी, हेरिटेज कार्पेट सह–प्रायोजकको रूपमा रहेको छ । मेलामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा ५० प्रतिशत छुट दिइएको छ ।

आयोजकले मेला २० हजार जनाले अवलोकन गर्ने तथा १० करोड बराबरको कारोबार हुने दाबी गरेको छ । 

मेला अवधिभरमा स्टलमा आएर ग्राहकले आफूलाई लागेका व्यवसायीसँग सम्बन्धित जिज्ञासाहरू तथा राख्न सक्ने समेत आयाेजकले जनाएकाे छ ।

Share News